झापा विद्रोहका घाउहरु

(0 Votes)
चेतन अधिकारी

Jhapa

दमक, फाल्गुन २० - पातलो शरीरमा एकसरो लुगा र फ्याङ्टे चप्पल लगाएर झापाको चारआली र धाइजनतिर एक वृद्ध हिँडडुल गरिरहन्छन् । राजनीतिक तर्क गर्नुपर्दा धेरैलाई पछाडि पारिदिन्छन्, तर अहिले उनी कुनै पार्टीका नेता होइनन् । उनी हुन्- ठूलो दुर्गा अधिकारी अर्थात् तत्कालीन झापा विद्रोहका योद्धा । विद्रोहमा लागेबापत १२ वर्षसम्म पञ्चायती शासकले जेल हालेका व्यक्ति ।

टिमाई खोला किनारमा एउटा बाँसे झुपडी छ । झुपडीबाट ६० वर्ष कटेका एक वृद्ध निस्कन्छन् । आँटा-पिठो जुटाउन ज्याला मजदुरी गर्दै जीवन घिसारिरहेछन् । उनी सानो दुर्गा अधिकारी अर्थात् त्यही विद्रोहमा १७ वर्ष जेल बसेका व्यक्ति ।

सुखानी जंगल आसपास घर भएका दिलबहादुर खड्काको उमेर पनि ६१ वर्ष कट्यो । सात छोराछोरी र दम्पती गरेर नौ जनाको परिवार छ । छ कठ्ठा ऐलानी माटो स्याहारेर बसेका उनको दैनिकी पनि बनिबुतो गर्दैमा बित्छ । खड्का झापा विद्रोहमा १० वर्ष जेल परेका व्यक्ति हुन् ।

घैलाडुब्बा-५ का ६० वर्षे कृष्ण सेढाईं उच्च रक्तचाप, मधुमेह जस्ता रोगबाट ग्रसित छन् । घस्रेर घैलाडुब्बा बजारसम्म आउनु अनि झापामा कम्युनिस्ट राजनीतिका सुरुका दिनको कथा सुनाउनु उनको दिनचर्या जस्तै छ । मनमा असन्तोष भए पनि बाहिर सन्तोष लिएर जीवनको वृद्धावस्था बिताउनु उनको नियति बनेको छ । सेढाईं पनि झापा विद्रोहका क्रममा १० वर्ष जेल बसेका हुन् ।

नेपालका कम्युनिस्टको मुख्य जग मानिएको झापाका गाउँगाउँमा यस्ता योद्धाहरू प्रशस्तै भेटिन्छन् । अधिकांशले यिनको इतिहास भुलेका छन्, यिनीहरू चाहिँ छाक कसरी टार्ने भनेर चिन्ताले थलिँदै गएका छन् ।

२०२९ फागुन २१ गते प्रहरी हत्यामा परेका झापा विद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा मनाइने सुखानी दिवस आउँदै गर्दा भने उनीहरूलाई साथ दिने जीवित योद्धाहरूलाई सम्झिने गरिन्छ । 

२०२१ मा भूमिसुधार ऐन लागू भएपछि जोताहाहरूले २५ प्रतिशत सम्म मोहियानी हक पाउने व्यवस्था भएपछि झापाका जमिनदारले मोहियानी हक नदिन किसानलाई विभिन्न बहानामा लखेट्ने अभियान सुरु गरेका थिए । तर किसानहरू जमिनदारका ती कदमविरुद्ध डटेर प्रतिकार गर्ने तहमा पुगे । बुधबारे, शनिश्चरे, गरामुनी, घैलाडुब्बा जस्ता गाउँमा त्यसबेला विद्रोहका कयौं घटना भए ।

नेतृत्वविहीन भएर चलेको किसान आन्दोलनलाई तत्कालीन कम्युनिस्ट पार्टीको झापा को-अर्डिनेसन कमिटीले साथ दियो । र, अन्त्यमा आन्दोलनको नेतृत्व पनि लियो र इतिहासमा यो आन्दोलनलाई झापा विद्रोहका रूपमा स्थापित पनि गरायो ।

त्यसबेलामा अग्रपंक्तिका आन्दोलनकारीहरू राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनाली, खड्गप्रसाद ओली, नरेश खरेल, खडानन्द वाग्ले, मोहनचन्द्र अधिकारीहरू अझै पनि राजनीतिको शिखर ठाउँमै छन् । तर उनीहरूलाई साथ सहयोग गर्ने कयौं कार्यकर्ता अहिले पनि झापा विद्रोहका क्षणलाई कथाको शैलीमा सुनाउँदै कुटो कोदालो गरेर जीवन बिताउँदै छन् । तीमध्ये कतिपय त कुटो-कुदालो गर्ने जमिन पनि नभएर बाँच्नका खातिर भौंतारिरहेछन् ।

र, तिनैमध्येका एक योद्धा हुन् ठूलो दुर्गा अधिकारी । सुखानी हत्याकाण्ड भएको करिब वर्षदिनपछि पक्राउ परेका अधिकारी १२ वर्षको जेल जीवनपछि छुटेका हुन् । 'पुलिसले पक्रँदा उमेर थियो, बैंस थियो, जोस थियो,' उनले भने, 'जेलमुक्त हुँदा करङ भाँचिए, जिन्दगीका सपना टुटे, उमेर बित्यो ।'

२०४२ तिर रिहा भएका अधिकारीले राजनीतिलाई बहुदल आएपछि द्रुतगतिमा हाँक्न सकेनन् । ०४६ को बहुदलीय व्यवस्थाको सुरुआतसँगै एक किसिमले उनीहरूका माग पूरा भएको ठानियो । खुला राजनीति सुरु हुनासाथ जेलवासी योद्धालाई हरेक किसिमले उछिन्ने गरी नयाँ राजनीतिकर्मीको उदय भयो । 'जालझेल र षड्यन्त्रको राजनीतिभन्दा निष्ठाको राजनीति गर्ने हामीहरू अस्वस्थ प्रतिस्पर्धामा परै छोडियौं,' एमालेको जिल्ला कार्यालय झापामा भेटिएका अधिकारीले भने, 'हामी पछि परेकोमा बिस्मात छैन, पार्टी अघि बढोस् र पार्टी जन्माउनेहरूको सम्मान होस् ।'

वीरगन्जमा पढाउने गाउँकै खडानन्द वाग्लेले २०२४/०२५ सालतिर झिल्को, झम्पल, माओत्सेतुङ उद्धृत उक्तिजस्ता पत्रिका र पुस्तक पढ्न दिएपछि शान्त स्वभावका दुर्गा विद्रोही बनेका थिए । त्यो जोसलाई उनले आफैंमा मात्र सीमित नराखी गाउँका करिब २० युवामा सारे । तत्कालीन भूमिगत झापा कोअर्डिनेसन केन्द्रको सम्पर्कमा पुगेका अधिकारीको घर पार्टीले सेल्टरका रूपमा प्रयोग गर्ने ठाउँ थियो । सेल्टर दिएको आरोपमा उनलाई ०२७ देखि ०२९ सम्म दुई वर्षमा करिब २२ पल्ट पक्रँदै छाड्दै गरियो । पछि ०३० को सुरुआतदेखि भूमिगत भएका अधिकारी जेल परे र १२ वर्षपछि छुटे । 'मेरो आर्थिक अवस्थाको कुरा नसोध्नोस्,' गम्भीर भएर उनले भने, 'समाजले नै हेयका दृष्टिले हेर्ने घरज्वाइँ बसेर जीवन गुजारा गरिरहेछु । म झापा विद्रोहको महान् योद्धा हुँ कि परिवार पाल्न नसक्ने काँतर ? आफैंसँग सोधिरहेको छु ।'

१८ वर्ष जेलमा बिताएका सानो दुर्गा अधिकारीका नाममा एकधुर पनि जग्गा छैन । उनलाई खान पनि पुग्दैन । कतिपय अवस्थामा भोक नै  खाएर छाक टार्नुपर्ने बाध्यता छ भन्छन् उनी । पार्टीले नै बनाइ दिएको सानो बाँसको कटेरोमा बस्छन् । ०२७ देखि पार्टीको तत्कालीन सुरक्षा दस्ता 'रेड गार्ड'को सदस्य भएर ठाउँठाउँमा पार्टीको निर्णय पुर्‍याउने, बैठक बसेका ठाउँमा सुरक्षा दिने उनको जिम्मेवारी थियो । नेत्र घिमिरे, सिपी मैनाली, तिलविक्रम ढकाल, खडानन्द वाग्ले जस्ता नेताहरूको संगतबाट कम्युनिस्ट पार्टीप्रति झुकाव बढेको उनले बताए । 'नौलो जनवाद ल्याउनुपर्छ, पञ्चयाती व्यवस्था फाल्नुपर्छ भन्थे,' पावरवाल चस्मा नाकेडाँडीमा ठेल्दै उनले सुनाए, 'त्यही क्रममा भूमिगत भइयो । ०३० सालमा साँखेजुङमा झलनाथ खनाललाई एउटा पत्र लिएर जाँदैगर्दा इलामको शान्तिपुरमा म पक्राउ परेँ । मसँगै गएका रामप्रसाद प्रधानलाई बाँसको भालाले हानेर प्रहरीले हत्या गरे ।'

झापा विद्रोहको नेतृत्व तहमै रहेका एमाले पोलिटब्युरो वैकल्पिक सदस्य एवं केन्द्रीय सदस्य नरेश खरेलका अनुसार २९ साल कात्तिकमा प्रहरीले नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइँकेललाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिस्टहरूको झन् बिगबिगी बढ्यो । तत्कालीन कम्युनिस्टले जमिनदारलाई सफाइ गर्ने अभियान 'एक्सन' बढाइरहेका थिए । 'जेल परेका हाम्रा पाँच जना साथीलाई हत्या गरेमा आन्दोलनकारी डरले भाग्छन् भन्ने प्रतिक्रियावादीको बुझाइ थियो,' खरेल सम्झन्छन्, 'त्यसैले झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरियो ।'

राति सुखानीमा पाँच योद्धाको हत्याको खबर सबेरै थाहा पाएपछि बिहानै धुलाबारीमा कोअर्डिनेसन कमिटीको आकस्मिक बैठक बसेर उनीहरूलाई सहिद घोषणा गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरिएको थियो । साथीहरूको हत्या सम्झनामा खरेलले तत्कालै एउटा गीत रचना गरे, जुन अझैसम्म एमालेको सांस्कृतिक फाँटमा चर्चित छ- आलै छ रगत मुटुमा २१ फागुन भुल्दैनौं, क्रान्तिको बाटो अँगाल्ने वीर सहिदलाई भुल्दैनौं..।'

'सुखानीमा पाँच भाइ सहिद भए । आन्दोलनको शीर्षस्थानमा रहेकाहरू आज पनि राजनीतिको शीर्ष ठाउँमै छन् । तर ती नेतालाई आड-भरोसा र सेल्टर दिनेहरू चाहिँ आजसम्म पनि उही अवस्थामा छन्,' दिलबहादुर खड्का भन्छन्, 'धेरै साथीको अवस्था मेरो जस्तै नाजुक छ ।'

झापा विद्रोहका क्रममा पार्टीले कार्यकर्ता जोगाउन केहीलाई भारत प्रवासमा समेत पठाएको थियो । पछि बहुदल आएपछि ती कार्यकर्ता नेपाल फर्किए । केहीले राजनीति पीडित राहत पाए । गरिखाने अरू विकल्प नहुँदा उनीहरूमध्ये कतिले आफ्नो सिद्धान्तलाई तिलाञ्जलि दिएर पुजारीका रूपमा जीवन गुजारा गरिरहेछन् । ती मध्येका एक हुन्- मालेस्ताएमा दाहाल । कम्युनिस्ट पार्टीका संस्थापकहरू माक्र्स, लेलिन, स्तालिन, एङ्गेल्स र माओका नामका अघिल्ला अक्षरबाट नाम राखिएका मालेस्ताएमा ०२८-०३० सालका महान् क्रान्तिकारी हुन् । मूर्तिपूजा नगर्न उर्दी गर्दै आठराई पहाड र झापाका गाउँगाउँ पुगेका उनी अहिले माईधारमा मन्दिरको पुजारी भएर गुजारा चलाइरहेछन् । 'अतीत सम्झँदा मलाई पछुतो लाग्छ,' मालेस्ताएमा आफैंलाई धिक्कार्छन्, 'त्यसबेलाको महान् क्रान्त्िाकारी मालेस्ताएमा अहिलेको पुजारी, थुइक्क !'

झापा आन्दोलनका अभियन्तामध्ये धेरैको एउटा साझा पीडा छ- श्रीमती गुमाउनु परेको । यो सूचीमा पर्छन्- १७ वर्षसम्म जेल जीवन बिताएका बुधबारेका अमर कार्की, १२ वर्ष जेल बिताएका ठूलो दुर्गा अधिकारी, १० वर्ष जेल बसेका घैलाडुब्बाका कृष्ण सेढाईं अनि माईधारका मालेस्ताएमा ।

अमर कार्की जेल परेपछि श्रीमतीले छोरी छाडेर अर्को श्रीमान् रोजिन् । ठूलो दुर्गाको पनि पीडा उही । अनि कृष्ण सेढाईंकी श्रीमती पहाडमै थिइन् । उनले पनि जेलवासी श्रीमान् छोडेर नयाँ घरबास बसाइन् । 'यी सबै जीवनका अविस्मरणीय क्षण बने,' सेढाईं भन्छन्, 'त्यसबेला घर- परिवारभन्दा पार्टीलाई ठूलो ठानियो, तर आज... ।' झापा विद्रोहको सुरुआतलाई एमालेले निश्चित ठेगानामा पुर्‍याएन भनेर कयौं नेता तत्कालीन कोअर्डिनेसनले  हतियार बिसाएकै ठाउँबाट पुन सशस्त्र विद्रोह गर्ने भन्दै माओवादीमा प्रवेश गरे । हर्क खड्का, धर्म घिमिरे, मानकुमार तामाङ, राधाकृष्ण मैनाली यसका उदाहरण हुन् ।

झापा आन्दोलनका योद्धाको एउटै गुनासो छ, आन्दोलनका बेला जागिर खोसिएका साथीहरू बहुदल आएपछि बहाली भए । जागिर नभएका कार्यकर्तालाई वास्तै भएन । 'कम्तीमा हाम्रो जेलबसाइ र योगदान हेरेर राज्यले नियमित भत्ता उपलब्ध गरायो भने हामीलाई जीवन जिउन अलि सहज हुने थियो,' ठूलो दुर्गाले भने ।

प्रकाशित मिति: २०६८ फाल्गुन २० १२:२७


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar
  • Yes Kantipur