Space for
Advertisment

राम्रो पुरस्कारका लागि दाह्री-कपाल फुलाउनु परेन

अमर न्यौपाने, मदन पुरस्कार बिजेता आख्यानकार

नेपाली भाषा साहित्यको गौरवशाली पुरस्कार मानिने मदन पुरस्कार २०६८ सालका लागि औपन्यासिक कृति ‘सेतो धरती’ले पाएको छ । चितवनमा जन्मेर साहित्य लेखनलाई नै आफ्नो प्रमुख पेशा बनाएका स्वाभिमानी, सरल, दार्शनिक, मृदुभाषी र अन्र्तमूखि स्वभावका धनी उपन्यासकार अमर न्यौपानेले यो वर्षको मदन पुरस्कार पाएका हुन् । उनको पहिलो कृति ‘पानीको घाम’ ले २०६६ सालको पद्मश्री साहित्य सम्मान प्राप्त गरेको थियो । दर्शन र कलात्मक शैली अमरको लेखकिय विशेषता हो । स्थलगत लेखन गर्ने न्यौपानेले उनको पहिलो कृति नेपालगंज बसेर, दोस्रो कृति सोतो धरती देवघाट बसेर र तेस्रो कृतिका का लागि तीन महिना हुम्ला बसेका थिए । जुन कृति अर्को वर्ष प्रकाशनको तयारीमा छ । न्यौपानेसँग मदन पुरस्कार र लेखनको सेरोफेरोमा रहेर नेपालीपत्रका लागि अर्जुनमणि पौडेलले गरेको कुराकानी

अमरजी सबैभन्दा पहिले त हार्दिक बधाई । लेखन यात्राको छोटो अवधिमै यस्तो प्रतिष्ठित पुरस्कार प्राप्त गर्न सफल हुनुभयो कस्तो अनुभूति गर्नु भएको छ ?

धन्यवाद अर्जुन जी । मलाई त कस्तो लागिरहेको छ भने यो पुरस्कारले म मात्र होईन, नेपाली साहित्यमा कलम चलाउने सबै युवा पुस्ता नै सम्मानित भएको अनुभूति गरेको छुँ । र सबै युवा उत्साहित र भएको महसुस गरेकेा छुँ । अर्को कुरा मैले जसको विषयमा यो उपन्यास लेखे बाल विधुवाहरुको बारेमा उहाँहरुको जीवनको पाईलाहरुले लेखेको, भोगेको कथा, जीवनयात्रा लेखेको छुँ । त्यसैले ती बाल विधुवाहरु पुरस्कृत भएका हुन् । म त एउटा निमित्त पात्र मात्र हुँ भन्ने लागिरहेको छ । म यसमा धेरै खुशी छु ।

सेतो धरती उपन्यास कसरी तयार भयो अलिकति पृष्ठभूमि बताईदिनुस् न ।

सोतो धरती मैले देवघाटमा बसेर लेखेको हुँ । तनहुँको देवघाटमा बाल विधुवा आमाहरुसँग एक महिना बसेर उहाँहरुको अनुभूतिलाई मैले पुरस्कारको रुप दिएको हुँ । वृद्धाश्रममा उहाँहरुले भोग्नुभएको जीवनलाई कथाको रुपमा लेख्ने उद्देश्यले शुरु गरेकेा खोजी एक जना सात वर्षको उमेरमा विवाह गरेर नौ वर्षको उमेरमा विधुवा हुनुभएकी हजुरआमाको कारुणिक कथा सुनेपछि उपन्यास लेख्ने मनस्थितिमा पुगेर यो कृति तयार भएको हो । ती वृद्ध हजुरआमा विधुवा हुनुभएको ७ वर्षपछि रजस्वाला हुदाँ सासुले घरबाट निकालिदएको र आजिवन वाधविय एक्लो जीवन बिताउनु परेको कारुणीक कथाले मेरो मन छोयो र मैले उपन्यास लेख्न शुरु गरेको हुँ ।

मदन पुरस्कार प्राप्त गर्ने तहको कृति बनेको छ भन्ने लागेको थियो तपाईलाई यो कृति ?

हाम्रो समाजमा अतिधेरै कथाहरु छन्, जसले हाम्रो लेखक तथा पाठकको मन छुन्छन् । कोठामा बसेर कल्पना गरेर लेख्नुभन्दा विभिन्न ठाउँहरुका पुगेर त्यहीको अवस्था हेरेर अनुभूति गरेर लेखेका कथाहरुले पाठकहरुको पनि अनुभूतिलाई स्पर्स गर्छन् भन्ने लाग्दछ । त्यसैले मैले यो कृति कुनै पुरस्कार प्राप्त गर्ने प्रतिस्पर्धाका लागि लेखेको होईन् । मदन पुरस्कार गुठीले मेरो कृतिलाई मदन पुरस्कार दिने निर्णय गर्नुभएछ त्यसमा म निकै खुशी छु । लेखकहरुले मिहिनेत गरेर खोज गरेर लेखेका कृतिहरु पनि उत्तिकै पठनिय र उत्कृष्ट छन् ।

पुरस्कार पाएपछि अझ बढी जिम्मेवारी बढेको, अझ लेखनका लागि उर्जा थपिएको भन्ने गर्छन, लेखक साहित्यकारहरु तपाँईलाई चाहि कस्तो भएको छ ?

मलाई पनि त्यस्तो अनुभूति भईरहेको छ । अब मेरो प्रतिश्पर्धा भनेको मेरै रचना वा कृतिसँग हो । मैले यी दुईभन्दा पनि अझै राम्रा कृतिहरु सिर्जना गर्नुपर्छ भन्ने अनुभूति मलाई भैरहेको छ । अग्रजहरु प्नि उत्साहित हुनुभएको छ । यूवा लेखकहरु पनि त्यतिकै प्रोत्साहित हुनुभएको छ । राम्रो कृति लेखनले पुरस्कार प्राप्तिका लागि कपाल वा दारी फुलाउनु पर्ने रहेनछ भन्ने प्रतिक्रियाहरुले मलाई अत्यन्त उर्जा र जिम्मेवारीबोध गराएको छ ।

साहित्य भनेको अनुभूति हो । कल्पना हो, मनभित्रको भाव हो भन्ने गरिन्छ, तपाँईले वस्तुतथ्य विषयलाई स्थलगत रुपमा गएर अध्ययन गरेर लेख्नुपर्छ भन्नु भयो । अलि प्रष्ट पारिदिनुस न यो विषय ।

साहित्य भनेको कल्पना र भाव मात्र होइन् । लेखक तथा कविको शिल्प र प्रस्तुत गर्ने कला भने पक्कै हो । तर हरेक लेखन वस्तुगत हुनुपर्छ भन्ने मलाई लाग्छ । खाली कल्पनामा कोठामा बसेर लेखेका कुराहरुले त पाठकको मन छुन धेरै नै गाह्रो हुन्छ र वास्तविक साहित्य पनि हुदैन जस्तो लाग्छ । मैले पहिलो कृति लेख्दा पनि नेपालगँञमा बसेर लेखेको हुँ । २ महिला नेपालगञ्जमा बसेर तयार भएको हो मेरो पहिलो कृति ‘पानीको घाम’। मैलो यो पुस्तक पनि देवघाटमा बसेर लेखेको हुँ । पोहोर साल तीन महिना हुम्लामा गएर त्यहाँको वस्तु स्थिति हेरर, त्यस्तो विकट ठाउँका मानिसहरुका कहाली लाग्दा मनछुने भावहरु समेटेर म अब अर्को किताब लेख्दै छु । मेरो पहिलो कृति पाठकहरुले मन पराईदिनुभयो । पुरस्कार पनि पायो । मेरो दोस्रो कृति पनि पाठकहरुले रुचाईदिनुभयो साथै यसले पुरस्कार पनि पायो । त्यसैले मलाई लाग्छ अबको लेखन भनेको पाठकहरुको रुचिलाई हेरेर सोही अनुसारको लेखिनुपर्छ । मेरो तेस्रो किताब पनि हुम्लातिरको विषयवस्तुलाई त्यहीबाट अनुभूति गरेको विषयमा आउनेछ ।

तपाईँको नयाँ कृति कहिलेसम्म आउँछ ? के नाम पनि जुराई सक्नुभयो कि ?

मेरो तेस्रो पुस्तकको खाका तयार भैसकेको छ । मैले हुम्लाका मानिसको दुखःपिडा र अनुभूतिलाई वास्तविक रुपमा आफ्नो कृतिको विषय बनाउँछु भनेर शुरु गरेको छु । कहिलेसम्म आउँछ त म अहिले नै भन्न सक्दिन । अब मेरो समय भनेको त्यही किताबका लागि हो । त्यो उपन्यास नै हुनेछ । सकेसम्म छिट्टै पाठक समक्षा ल्याउने कोशिश गर्नेछु । नाम चाहि जुराईसकेको छैन ।

युवा साहित्यकार हुनुभएको र छोटो अवधिमै उत्कृष्ट लेखकको परिचय बनाईसक्नुभएको नाताले साहित्य सृजना तथा साधनामा रहेका र भर्खरै साहित्य लेखनमा प्रवेश गरेका नयाँ लेखक साहित्यकारहरुलाई के भन्नुहुन्छ ?

वास्तवमा भन्नुपर्दा म कसैलाई पनि सल्लाह सुझाव वा सन्देश दिने क्षमता राख्दिन । म आफैले पनि धेरै कुरा सच्याउनुछ, सिक्नुछ, जान्नुछ । तर पनि नेपाली साहित्यमा आउने नयाँ पुस्तालाई म के भन्छु भने आफ्नोपन र आफ्नो अनुहार चाहिँ साहित्यमा पनि बनाउनुपर्छ । जसरी संसारका सबै मानवहरुको अनुहार अलग हुन्छ, त्यसैगसरि आफ्नो लेखनीको पनि अनुहार अलग हुनुपर्छ । आफ्नो पहिचानका लागि आफ्नै अनुहार चाहिए जस्तै साहित्यमा पनि पाठकहरुको रुचिका लागि र आफ्नो अस्तित्वका लागि लेखनीको आफ्नै अनुहार र परिचय बनाउनुपर्छ जस्तो लाग्छ ।

(साभारः अष्ट्रेलियाको नेपाली पत्र)

 

Your Comment