अधुरै रह्याे ५० औं विवाहउत्सव मनाउने चाहना


प्रकाशित मिति :2019-03-14 12:32:37

-प्रतिमा सिलवाल-

२०२५ साल फागुन २९ गते, भरतमोहन अधिकारी र सविता आचार्य वैवाहिक सम्बन्धमा जोडिएका थिए । मिति अनुसार २०७५ साल फागुन २९ गते उनीहरुको वैवाहिक वर्षगाँठको ५० वर्ष पूरा हुने दिन ।

अधिकारी दम्पत्तीले विवाहको पचास वर्षसम्म वैवाहिक वर्षगाँठ कहिल्यै मनाएनन् । तर यो पटक धुमधामले मनाउने उनीहरुको तयारी थियो । उनीहरुको के भनौं, सविताले योजना बनाएकी थिइन् ।

आफन्त, इष्टमित्रको बीचमा धुमधामसँग पहिलोपटक विवाहउत्सव मनाउने उनको चाहना पुरा हुन पाएन, अब कहिल्यै पुरा हुने पनि छैन ।
बुधबार सविताले चाहे अनुसारको समय हुन्थ्यो भने उनी रंगीन पहिरनमा सजिएकी हुन्थिन् । आफन्त इष्टमित्रको आवागमन दिउँसैदेखि सुरु भइसकेको हुन्थ्यो ।

सानेपाको प्याराडाइज कोलोनी भित्र रहेको घरभित्र पस्नेबित्तिकै दायाँतिरको बैठक कोठामा कम्युनिष्ट नेता भरतमोहन अधिकारी आमन्त्रितलाई स्वागत गरिरहेका हुन्थे ।

तर, अहिले घरको बैठक कोठा छिर्नै पर्दैन । भरतमोहन अधिकारी ढोका बाहिर नै मुस्कुराइरहेका त छन् । तर, सयपत्रीको माला सहितको तस्वीरमा । अगाडि छ टपरीले ढाकेर निभ्नबाट जोगाइएको एक दियो । आडैमा एक गुच्छा फूल । दाहिनेतिर आदर पत्र ।

अर्थात्, भरतमोहन अधिकारी भौतिक रुपमा अस्ताइसकेका छन् । दियोको प्रकाशमा उनको मुहारको तेज उज्यालिँदैन, उज्यालिन्छ केवल तस्वीर । सायद, स्वर्ग छ भने त्यहीँ उनी उज्यालिउन् भनेर तस्वीर मुन्तिर दियो बालिएको होलान् ।

घरको पहिलो तलाको दाहिनेतिर लामो कोठा छ । १२ दिनयता त्यहीँ छिन् सविता, आफ्ना तीन छोरीको साथमा ।

अहिले उनको पहिरनको सेतै छ । आफूले जीवन नै ठानेको व्यक्ति नभएपछि रंगको पनि के अर्थ !

कम्युनिष्ट नेता भरतमोहन अधिकारीको निधनको बाह्रौं दिन । बिहान ११ बजेतिर निवासमै पुग्दा उनी ३ छोरीका साथ किरियाको बाह्रौं दिनको पूजाआजामा थिइन् ।

केहीबेर कुरेपछि कुराकानी भयो । लामो कुराकानीको मुडमा थिइनन् सविता । उनको घाउ कोट्याएर पीडा थप्ने योजना त मेरो पनि थिएन ।

यद्यपि कम्युनिष्ट नेता भरतमोहनलाई श्रीमतीको आँखाबाट बुझ्ने प्रयास थियो ।

कुराकानी थालियो विवाहको प्रसंगबाट ।

‘हाम्रो मागी र साथीभाइको चिनजानबाट भएको विवाह ।’ छोटकरीमा उनले सुनाइन् ।

विवाह चाहिँ कसरी भयो ? जवाफमा भनिन्, ‘मेरो बुबा पण्डित त्यसैले घरबाट परम्परागत रुपमा विवाह भयो । अनि उहाँ (भरतमोहन अधिकारी) पार्टी नेता पार्टीगत रुपमा सपथ पनि खायौं ।’

त्यतिबेला सविताले काठमाडौं त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर पाँचौ वर्षको परीक्षा दिएर धरान गएकी थिइन् । उनीहरुको विवाह त्यतिबेला नै भयो ।

राजनीतिक रुपमा पनि विवाह भएको हुनाले कतिपयले भरतमोहन र सविताको प्रेम विवाहको पनि आँकलन गर्छन् । सविताले खुलाइन्, ‘होइन, मैले विवाहको निर्णयअघि उहाँसँग भेटेर गफ पनि गरेको थिइन ।’

त्यतिबेला सविता पनि सुनसरी जिल्ला पार्टी कमिटीमा निर्वाचित सदस्य थिइन् । भरतमोहन त केन्द्रीयस्तरकै नेता भए । त्यतिबेला जिल्ला पार्टीका साथीहरुको अनुरोधमा आफू विवाहका लागि तयार भएको उनले बताइन् ।

विवाहयता सविताले २० वर्ष निरन्तर अध्यापन गरिन् । उनले विराटनगरमै २० वर्ष अध्ययापन जीवन पूरा गरेर २०५० सालमा मात्रै काठमाडौं आएकी थिइन् ।

विवाहपछिको राजनीतिका बारेमा प्रश्न गर्दा सविता आफूले पहिलो प्राथमिकता परिवारलाई दिएको बताउँछिन् ।

‘परिवारको प्राथमिकता हेर्दा एकजनाले जागिर गर्नैपर्ने थियो’ उनले थपिन्, ‘उहाँ राजनीतिमा स्थापित भइसकेको हुँदा मैले जागिर खाने निर्णय गरें । उहाँ राजनीतिमा अघि बढ्नुभयो ।’

यद्यपि सविता राजनीतिमा सक्रिय नै छिन् । उनी अहिले तत्कालिन नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघको केन्द्रीय कोषाध्यक्ष हुन् ।

आफ्नो राजनीतिबारे सविताले भनिन्, ‘२० वर्ष अध्यापन सकेर २०५० सालमा काठमाडौं आएँ । त्यसपछि यत्तिकै बसिरहेको थिएँ, अष्टलक्ष्मी शाक्यले राजनीतिमा लाग्नुपर्छ भन्नुभयो । मेरो पनि सक्रियता बढ्यो । पाटन सम्मेलनपछि अनेमसंघको कोषाध्यक्ष भएर तीन कार्यकाल काम गरें ।’

अहिले सविताले केन्द्रीय कोषाध्यक्षबाट राजिनामा गरिसकेकी छिन् । २ वर्षअघि कोषाध्यक्ष पदबाट राजिनामा गरेकी हुन् । यद्यपि अहिलेसम्म राजिनामा स्वीकृत नभएको अनेमसंघ सचिवालय सदस्य शान्ति अधिकारीले जानकारी दिइन् ।

भरतमोहन भन्थे ‘महिला पुरुष समान हुन्’

भरतमोहन अधिकारी नेपालको एक सफल राजनीतिज्ञ हुन् । आफ्नो सक्रिय राजनीति रोकेर निरन्तर सविताले अगाडि बढाएकै कारण उनी स्थापित बने । सविता भरतमोहनको राजनीतिक जीवनदेखि खुसी नै छिन् ।

सविताकै भनाइमा, भरतमोहन लैंगिक रुपमा हुने थिचोमिचो हट्नुपर्छ भन्ने स्वभावका थिए । भरतमोहन र सविताका ३ छोरी छन् ।

त्यतिबेलाको समाज छोरा नभइ हुँदैन भन्ने सोचको थियो । तर, आफूले छोराको लागि श्रीमान र परिवारबाट कहिल्यै दबाब झेल्नु नपरेको उनले बताइन् ।

भरतमोहनले अर्थमन्त्री हुँदा गरेको काममध्ये बृद्धभत्ताको विषयमा सर्वसाधारणले प्रशंसा गर्छन् । तत्कालिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहनका सञ्चार सल्लाहकार तथा नेकपाका नेता सूर्य थापा भरतमोहनले महिला समानताका लागि मुख्य दुई काम गरेको बताउँछन् ।

‘भरतमोहन अर्थमन्त्री हुँदा नेपाल दक्षिण एसियामै मातृ तथा शिशु मृत्युदर धेरै हुने देश थियो’ थापाले भने, ‘उहाँले सुत्केरी भत्ताको कार्यक्रम सुरु गर्नुभयो । महिलाको नाममा घरजग्गा पास गर्दा लाग्ने दस्तुरमा छुट पनि भरतमोहनले नै सुरु गर्नुभएको हो ।’

यहि कार्यक्रम हेर्दा पनि भरतमोहन महिला समानताको लागि कति उदार हुनुहुन्थ्यो भन्ने प्रष्ट हुने सविताको धारणा छ ।

विवाह उत्सव मनाउने चाहना अधुरै 

अहिले सविता ७५ वर्षकी भइन् । भरतमोहन आउँदो बैशाख २२ गते ८४ वर्ष पुरा हुँदै थिए । जीवनको उर्जाशिल समयमा पार्टी, राजनीति तथा अध्यापनमा बिताएकोले यी दम्पत्तीले व्यक्तिगत जीवनका उत्सवहरु धुमधामसँग मनाउन पाएनन् ।

त्यसैले पनि भरतमोहन र सविता सँगसँगै बिताएको ५० औं विवाहउत्सव अविस्मरणीय बनाउन चाहन्थे । दैवले भरतमोहनलाई त्यो दिन नआउँदै चुँड्यो । यो जुनीमा उनीहरुको चाहना पूरा हुन पाएन ।

‘तपाईंहरुको विवाहको दिन आज है ?’ प्रश्न सुन्दा सविता एकछिन् अलमल भइन् । २९ गते आजै हो र !

हो त आजै हो ।

यसअघि विवाह उत्सव मनाउनु भएको थियो ?

‘अहँ, अहिलेसम्म मनाइएन ! तर, यो वर्ष धुमधामसँग मनाउने तयारी थालिसकेको थिएँ……………….’ यत्ति बोलेपनि सविता अघि बोल्न सकिनन् । भक्कानिइन् र निःशब्द आफैभित्र हराइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

कृषक महिलालाई चार प्रकारका तरकारीको विरुवा

–महिला खबर– भीमदत्त नगरपालिका वडा नं. १० मा तरकारीका विरुवा वितरण अभियान सुरु गरिएको छ ।

महिलामैत्री याेजना बनाउँदै हल्दीवारी गाउँपालिका

–विष्णुप्रसाद पोखरेल– विकास निर्माणमा महिलाहरुको नेतृत्वका लागि महिलाहरुमात्र रहेको टोल विकास संस्था बनाएर नमुना गाउँपालिकाको

सञ्चारिका महासचिव तुम्खेवाको चौथो कविता संग्रह आउँदै

–महिला खबर– सञ्चारिका समूहका महासचिव तुम्खेवाको चौथो संस्करणको रुपमा ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ नामक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: