८९४ पटक हेरिएको
प्रकाशित: २०७५ फाल्गुण २९ , १२:०२ बजे

निर्मला हत्याकाण्ड : न्यायिक प्रक्रिया नै विथोल्ने यस्तो डिजाइन !

Image

– मदन गिरी
महेन्द्रनगर, २९ फागुन । निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा प्रमाण मेटिाएको र निर्दोषलाई अभियुक्त दिन यातना दिएको अभियोगमा आठ प्रहरीविरुद्ध चलाइएको मुद्दामा अदालतले गठन गर्न खोजेको एमिकस क्यूरीमा प्रतिवादीमध्येका एकका सम्बन्धीलाई पठाइएको आरोप लगाइएको छ ।

कञ्चनपुर जिल्ला बार एसोसियसनले मंगलबार अधिवक्ता हरेन्द्रराज विष्टलाई एमिकस क्यूरीमा पठाउने निर्णय गरेको छ । महेन्द्रनगरमा क्रियाशील एक अधिवक्ताले अधिवक्ता विष्ट अभियुक्त तथा वर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टका नातासम्बन्धी भएको दावी गरेका छन् ।

दैनिक मानसखण्डको संक्षिप्त अनुसन्धानले अधिवक्ता विष्ट र पूर्व एसपी विष्ट नातासम्बन्धमा पर्ने देखाए पनि ठोस जानकारी प्राप्त हुन सकेको छैन । जिल्ला बार एशोसिएनका सचिव देवराज पन्तले अदातलले माग गरे बमोजिम अधिवक्ता विष्टलाई एमिकस क्युरीमा पठाईएको बताए । उनका अनुसार जिल्ला बारका सदस्यमध्येबाटै छान्नुपर्ने भएकाले विष्टलाई क्यूरीमा पठाइएको उनको भनाई छ । उनले अधिवक्ता विष्ट अभियुक्तहरुमध्ये कसैको सम्बन्धी भएको बारे आफूलाई थाहा नभएको बताए । अधिवक्ता विष्ट सात वर्ष देखि कानुन व्यवसायीको काम गरिहेका छन् ।

सोमबार उच्च अदालत बारले वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्टलाई क्यूरीमा पठाउने निर्णय गरेको थियो भने मंगलबार जिल्ला बारले अधिवक्ता हरेन्द्र राज विष्टलाई एमिकस क्यूरीका लागि पठाएको छ ।

अदालतले दायर भएका दुबै मुद्दाका केही विशिष्ट पक्षमा परामर्श दिन एमिकस क्युरीका लागि उच्च अदालत बार र जिल्ला अदालत बारलाई गरेको अनुरोध अनुसार एमिकस क्यूरी गठन भएको छ ।

अदालतले एमिकस क्यूरीलाई तीनवटा विषयमा राय दिन सुझाएको छ । मुद्दाको हदम्याद, जाहेरी दिने व्यक्तिहरुको कानुनी हैसियत र अभियुक्तहरुविरुद्ध सोझै मुद्दा चलाइएको विषयमा क्यूरीले सुझाव दिनेछ । क्यूरीको सुझाव सर्वसम्मत भए अदालत सोझै मुद्दामा प्रवेश गर्नेछ भने क्यूरीमैं मत बाझिएमा बहस हुनेछ ।

क्यूरीले मुद्दाको हदम्याद सकिएको वा नसकिएको भन्नेबारेमा छलफल गर्नेछ । १० साउनमा घटना भएको थियो भने २२ फागुनमा मात्रै मुद्दा दर्ता गरिएको छ । त्यसै गरी क्यूरीले निर्मलाकी आमा दुर्गादेवी प्रमाण मेटाएको विषयमा र दिलिपसिंह विष्टका दाजु खडक विष्टले आफ्ना भाईलाई यातना दिएर नक्कली अभियुक्त बनाउन खोजेको विषयमा जाहेरी दिएका थिए । साथै, आठैजना अभियुक्तविरुद्ध मुद्दा दायर गर्दा विभागीय स्वीकृति लिन आवश्यक भए नभएको बारेमा पनि क्यूरीले सुझाउने छ ।

थुनछेक बहस जारी
प्रहरीविरुद्धको जिल्ला अदालतको प्रारम्भिक आदेशपछि प्रतिवादीको बयान लिने क्रम सकिए पनि थुनछेक बहस जारी रहेको छ ।

जिल्ला अदालत कञ्चनपुरले ६ अभियुक्तको बयानपछि सोमबारबाट सुरु गरेको थुनछेक बहसमा वादी र प्रतिवादीतर्फ सात जनाले बहस गरेका छन् ।

जिल्ला अदालत कञ्चनपुरको एक नम्बर ईजलासमा मंगलबारसम्म वादीतर्फका छ जना कानुन व्यवसायीले बहस गरेका छन् भने प्रतिवादी पक्षबाट एक जना वकीलले बहस गरेको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ । जिल्ला अदालत श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार वादीतर्फबाट अधिवक्ता बसन्त गौतम, ईन्द्र आर्याल, बद्री प्रसाद भुसाल, जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहायक जिल्ला न्यायधिवक्ता मोहनी प्रसाद जोशीले ईजलासमा बहस गरेका हुन् ।

बहसमा उनीहरुले प्रमाण नष्ट र यातनाको अभियोग लागेका अभियुक्त दोषी भएकोले थुनामा राखेर मुद्दा चलाउनुपर्ने बताएको छन् । अभियुक्तहरुले निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोषलाई मानसिक तथा शारिरीक यातना दिएको वादी पक्षको कानुन व्यवसायीको दावी छ ।

त्यस्तै प्रतिवादीको तर्फबाट भने एक जना मात्र कानुन व्यवसायिले बहस गरेका छन् । मंगलबार समय अभावले प्रतिवादीतर्फका एक जनाको वकीलले मात्रै बहस गरेको श्रेस्तेदार अवस्थीको भनाई छ । प्रतिवादी वर्खास्तमा परेका इन्स्पेक्टर जगदिश भट्टको तर्फबाट कानुन व्यवसायी ईन्द्र प्रसाद लेखकले बहस गरेका थिए ।

उनले घटनामा अभियुक्तद्वारा प्रमाण मेटाउने काम नगरेको र उनीहरुले आफ्नो पदीय जिम्मेवारी पूरा गरेकाले साधारण तारेखमा रिहा गरिनुपर्ने मागदावी गरेका थिए ।

थुनछेक बहसपछि अदालतले अभियुक्तहरुलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारगार पठाउने भन्ने निर्णय गर्नेछ ।

 


About Author
-मदन गिरी