डायास्पोरिक कथा संग्रह "समुद्र र सपना"
कथाकार: सञ्जु बजगाईं
प्रकाशक: रत्न पुस्तक भण्डार, काठमाण्डौं
वार्षिक सङ्ग्रह
2007318
2008427
2009661
20101117
2011815
2012359
जम्मा369716
नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

‘देवासुर सङ्ग्राम’को वैचारिक पक्ष

- डा. यदु नन्दन उपाध्याय

१. विषय प्रवेश
मोदनाथ प्रश्रित (१९९९) नेपाली साहित्य, समाज चिन्तन तथा राजनीतिक गतिविधिका प्रभावशाली व्यक्तित्व हुन् । उनको साहित्यिक व्यक्तित्व कविता, निबन्ध, नाटक, उपन्यास तथा कथाका साथै समालोचनामा पनि बलियो उपस्थितिका साथ मुखरित छ । उनको काव्य सिर्जन २००८ सालबाटै थालिएको तथा २०१५ सालबाट सार्वजनिक प्रकाशनमा देखिएर अघि बढेको हो । उनका कविता कृतिहरूमा आमाका आँसु (२०१९, कविता सङ्ग्रह), बुबा खै ? (२०२०, खण्डकाव्य), मानव (२०२३, मदन पुरस्कार प्राप्त महाकाव्य), देवासुर सङ्ग्राम (२०३०, महाकाव्य), गोलघरको सन्देश (२०३९, खण्डकाव्य) शहिदको रगत (२०३९, कविता सङ्ग्रह), जब चल्छ हुरी (२०४९, गीत सङ्ग्रह) र सङ्कलित रचना भाग (१) (२०५८, कविता एवं गीतहरूको सङ्ग्रह) रहेका छन् । प्रश्रितका जम्माजम्मी कविता रचनाहरूको परिमाण फुटकर कविता र गीततर्फ २३५, खण्डकाव्य २ र महाकाव्य २ रहेको छ । प्रश्रितको कवि व्यक्तित्व उनका अरू साहित्यिक व्यक्तित्वका तुलनामा समृद्ध र प्रभावशाली छ ।
मोदनाथ प्रश्रितद्वारा रचित देवासुर सङ्ग्राम (२०३०) मा माक्र्सको समाज विकास सम्बन्धी अवधारणालाई काव्यात्मक अभिव्यक्तिमा प्रस्तुत गरिएको छ । यसले मुख्यतः एसिया (जम्बूद्वीप वा हाल रुस र चिनको पूर्वी हिस्सा बाहेकको बाँकी एसिया) का आर्य हिन्दु र आर्येतर विभिन्न समुदायका मानिसहरूको ऐतिहासिक विकास क्रमलाई प्रस्तुत गर्दै केही हदसम्म समग्र मानव विकासका सामान्य प्रवृत्तिको सङ्केत समेत गरेको छ । यसमा खास गरी दक्षिण एसियामा परिचित देव वा आर्य समूहलाई हाम्रो समाजले मानि आएको सत्पक्षका सट्टा असत् उत्पीडक र शोषक पक्षका रूपमा अनि असुर वा राक्षस पक्षलाई असत् पक्ष भन्दा भिन्न सत् उत्पीडित र शोषित एवं कर्मशील पक्षमा प्रस्तुत गरिएको छ । नेपालमा राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्था रहेका बेला (२०२७) रचिएको यस महाकाव्यले तत्कालीन सामन्ती प्रकारको उत्पादन सम्बन्ध र त्यसमा टिकेको राजतन्त्रमाथि प्रहार गर्न र नेपाली जनमानसमा प्रबल बन्दै गएको माक्र्सवादी विचार प्रवाह गर्नमा ठुलो योगदान पु¥याएको मानिन्छ । प्रस्तुत आलेखमा यसले व्यक्त गरेका प्रमुख वैचारिक पक्षमाथि विचार विमर्श गर्ने जमर्को गरिएको छ र त्यसमा महाकाव्य तत्त्वका कथानकीय गठन, लय, कथन पद्धति, बिम्ब, प्रतीक, अलङ्कार, भाषा आदि कोणबाट हेर्न नसकिएका परिसीमाहरू पनि देखिने छन् ।
२. ‘देवासुर सङ्ग्राम’को विषय स्रोत र यसको वैचारिक पक्ष
मोदनाथ प्रश्रितको देवासुर सङ्ग्राम महाकाव्यको विषय स्रोत मूलतः हिन्दु धर्मसँग सम्बन्धित विविध ग्रन्थहरूका साथै स्वयं प्रश्रितको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विचार प्रस्तुतिका निम्ति गरिएको मौलिक परिकल्पनामा आधारित छ । उनले मूलतः श्रीमद्भागवत्, वेद, महाभारत, दुर्गा सप्तशती, रामायण, श्रीमद्भगवत् गीता, मनुस्मृति आदिका साथै यथार्थ इतिहास, विभिन्न किंवदन्तीहरू समेतको उपयोग गरी ती स्रोतलाई आफ्नो विचार अनुकूल ढालेर विनिर्मित गरेका छन् । उनले ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा उक्त प्राचीन ग्रन्थहरूमा सिलो खोजेर प्राप्त गरेका तथ्यहरूलाई क्रमबद्ध संयोजन गरी आफ्ना तत्सम्बन्धी दृष्टिचेतहरू समेतलाई मिलाएर कथानकको निर्माण गरेका छन् (चापागाईँ २०५२ ः ६२८) । प्रस्तुत महाकाव्यको विषय स्रोतबारे स्वयं प्रश्रित (२०४४ ः १९) यसो भन्छन् ः
भारतीय वेद र पुराणहरूको अँध्यारो जङ्गलमा पसेर इतिहासपूर्वका युगको तसबिर खिच्ने प्रयास गर्नु साँच्चै नै दुसाध्य काम हो । अझ सन्दर्भ मिलाउन कैयौँ परिकल्पनाहरूलाई समेत आधार बनाई अगाडि बढ्नु पर्दा र यस दिशामा यो पहिलो प्रयास भएको हुनाले प्रसस्त त्रुटिहरू रहन गएका होलान् । यसमा दिइएको प्राचीन भौगोलिक नक्सा, केही पौराणिक सङ्केत र केही मेरो परिकल्पनामा आधारित हुनाले त्यसमा सम्पूर्ण सत्यताको म दाबी गर्न सक्तिन ।
प्रश्रितको यस स्वीकारोक्तिले पनि उक्त विषय स्रोतको सत्यता र विचार अनुकूलको विधानका निम्ति गरिएको मौलिक परिकल्पनाको पुष्टि हुन्छ । त्यसरी गरिएको विनिर्मिति वा मौलिक परिकल्पनामा मुख्य रूपमा नेपाली समाजमा विद्यमान अन्याय र असत्यमाथि दृष्टि प्रस्तुत गरी त्यसका कारणहरूको खोजी गर्नमा केन्द्रित छ । त्यस्ता अन्यायबारे महाकाव्यका पात्रहरूबाटै जिज्ञासा प्रस्तुत गरी सत्ययुग भनिने समाजमा कुनै किसिमको अन्याय र अत्याचार नभएको तर हाल (२०२७ ताक) भने समाजमा आर्थिक शोषण, लैङ्गिक विभेद, अन्ध विश्वासका तमाम प्रकारका जन्जालको अन्योल बारे उत्सुकता प्रकट गरी इतिहासको सही समझबाट ती सबै कुरा छर्लङ्ग हुने कुरा औँल्याइएको छ । यसरी उक्त विषय स्रोत ग्रहण गरेर उपर्युक्त समस्याको उठान कसरी भयो र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने गरी प्रश्रितले यस महाकाव्यका अन्तर्वस्तुको निर्माण गरेका छन् । प्रस्तुत सन्दर्भमा देवासुर सङ्ग्राम महाकाव्यको विषय र त्यसले अभिव्यक्त गरेका प्रमुख वैचारिक पक्षलाई निम्नानुसारका उपशीर्षकमा समाविष्ट गरी विवेचना गर्ने प्रयत्न गरिएको छ ।
२.१ समाज विकास सम्बन्धी अवधारणा
मोदनाथ प्रश्रितको देवासुर सङ्ग्रामले अहिलेको र त्यसमा पनि विशेष गरी रचनाकालीन (२०२७) नेपाली समाज र त्यसभित्रका आर्थिक विसङ्गति, लैङ्गिक विभेद, जातीय भेदभाव र उत्पीडन अनि सामाजिक एवं धार्मिक अन्ध विश्वासका मनोवैज्ञानिक एवं भौतिक फोहरहरू हटाउने मूल उद्देश्य राखेको छ । त्यसका निम्ति खेताराहरूसँगको संवादमा मास्टर चरित्रले सुरुमै तिनका कारण जान्न सही इतिहासको ज्ञान गर्नु आवश्यक रहेको जनाउँछ र त्यसैका निम्ति प्रश्रितले यस महाकाव्यमा माक्र्सवादी दर्शनका आधारमा इतिहासबोध गराउने प्रयत्न गरेका छन् । माक्र्सवादले समाज विकासलाई आदिम साम्यवादी, दास, सामन्ती, पुँजीवादी र समाजवादी गरी पाँच युगमा छुट्याएको छ (तिमल्सेना, २०६४ ः २४) । यस महाकाव्यमा प्रश्रितले धार्मिक मान्यता अनुसारको “सत्ययुग”लाई ढुङ्गे युग वा आदिम साम्यवादी युग मानेका छन् । मानवशास्त्री जी.डे. मेर्रिलेटले पनि आदि मानवले आफ्नो व्यवसाय ढुङ्गाबाट चलाउने गरेको धारणा व्यक्त गरेका छन् (शर्मा, २०५८ ः २४) । प्रश्रितले आदि कालीन मानवको आर्थिक प्रक्रिया र सामाजिक जीवन पद्धतिलाई बुझाउन देवासुर सङ्ग्राममा आदित्य वंश र विभिन्न आदिवासी समूहको जीवन सङ्घर्षलाई प्रस्तुत गरेका छन् । इन्द्र, वृहस्पति जस्ता व्यक्तिहरू रहेको सो आदित्य वंशको ढुङ्गे युगको जीवन पद्धति भए पनि त्यसले सम्पूर्ण मानव विकासका प्रवृत्तिको सङ्केत समेत गरेको छ । त्यस वंशका आदि कालीन जीवन पद्धति अनुसार समाजमा समानता, न्याय र सदाचारको साझा भावना रहेको, निजी भन्ने कुरा केही नभएको, धनी र गरिबको वर्गीय भेद पनि नरहेको, पुरुष भन्दा नारीको सम्मान अझ बढी रहेको तथा आजको जस्तो जातीय भेदभाव र छुआछुतको अमानवीय प्रथा पनि नथालिएको कुरा उल्लेख गरिएको छ । त्यस युगमा इन्द्रिय प्रत्यक्ष कुरालाई मात्र मान्ने प्रचलन रहेकाले आजको जस्तो अन्ध विश्वासका जन्म, पुनर्जन्म आदि सम्बन्धी भ्रामक धारणा पनि नथालिएको सन्दर्भ सो महाकाव्यमा प्रस्तुत गरिएको छ ।
प्रश्रितले यस महाकाव्यमा आदिम युगमा समूहमा खाने, बस्ने, खाद्यान्न सङ्कलनमा ढुङ्गाका औजारको प्रयोग गर्ने, अड्डा अदालत र राज्यको उत्पत्ति नै नभएकाले न्याय अन्यायको छिनोफानो गर्ने काम गणकै जेष्ठ वा चुनिएकी फुर्तिफार्तीकी महामाताबाट हुने, वस्तु सञ्चयको प्रणाली विकसित नभएकाले बिहानको बिहानै तथा साँझको साँझै उपभोग गरिने, युद्ध, पशु पालन, सिकार, कृषि लगायतका काममा प्रायः पुरुषहरू खट्ने, बाल, बृद्ध तथा विकलाङ्ग वा कमजोर मानिसको स्याहार सुसारको परिपाटी पनि बसालिएको जस्ता पक्षहरू पनि रहेको सन्दर्भ उल्लेख गरेका छन् । प्रस्तुत महाकाव्यमा उल्लेख गरिएका यस्ता विशेषताहरू आदिम साम्यवादी समाजकै विशेषता अन्तर्गत पर्दछन् (दीक्षित र भण्डारी, २०५६ ः २६) ।
प्रस्तुत महाकाव्यमा अविकसित तर समानता, साझा भावना र व्यवहारको आदिम युगकै जीवन पद्धतिमा निजी स्वामित्व र भोग विलासका क्रियाकलाप हुर्कँदै गएपछि समाज दास र दास मालिकमा बाँडिई दास युगमा विकसित भएको सन्दर्भ प्रस्तुुत गरिएको छ । यस महाकाव्यमा आदित्य वंशबाट पहिलै छुट्टिएर विष्णुलोक निर्माण गरी बसेका विष्णुको मालिक्याइँ, त्रिविष्टप (तिब्बत)मा सुविधा सम्पन्न जीवनमा बसेका ब्रह्माको जीवन पद्धतिका साथै शिवलोक (नेपाल)का शिवबाट सहयोग पाई सारा इलावर्तमा विजय प्राप्त गरेपछि इन्द्रले घोषणा गरेको निजी स्वामित्व र पितृ प्रधानताको समाज पनि दास युगकै समाजका रूपमा देखिएको छ । त्यस युगमा सुरुमा युद्धबन्दीलाई र पछि आफ्नै गणका नारी वा अरू मानिसलाई पनि दास बनाएर बस्तु सरह किनबेच गर्न सकिने र एउटा मालिकले सयौँको सङ्ख्यामा रहेका दासहरूलाई निजी कामका निम्ति प्रयोग गर्न पाउने प्रचलन इन्द्रले सुरु गरेको उल्लेख देवासुर सङ्ग्राममा गरिएको छ । समाजमा शासक वर्ग र शासित वर्गको विभाजन खडा गरी दासहरूलाई काममा कजाउने र मालिकको सुरक्षा गर्न अङ्ग रक्षक र सेना लगायतका सुरक्षा निकायको प्रबन्ध गर्नुका साथै दासहरूमाथि शासन चलाइ रहनका निम्ति धार्मिक विधि विधानको निर्माण गरिने घोषणा पनि गरिएको छ । मातृसत्ताका ठाउँमा पितृसत्ताको थालनी गर्नुका साथै नारीलाई चुरा, पोते सिन्दुर भिराउँदै पतिव्रता धर्मका नियम बनाएर बन्धनमा पार्ने काम गरिएको पनि उल्लेख छ । प्रगतिवादले कृषि प्रणालीको थालनी पश्चात् श्रमको विभाजन भई समाजमा पितृसत्ताको थालनी भएको मान्यता प्रस्तुत गरेको छ (उपाध्याय, २०६८ ः २७४) ।
देवासुर सङ्ग्राममा दास युगमा मालिक र दासको वर्ग विभाजन हुन गई मिहेनती श्रमिक दासहरूको जीवन सारै दयनीय, सकसपूर्ण र अमानवीय रहेको अभिव्यक्ति प्रस्तुत गरिएको छ । दासता त्यस्तो स्थिति हो जसमा कुनै मानिस कानुनी रूपमै अर्का मानिसको निजी सम्पत्ति मानिन्छ (गाबा, सन् १९९८ ः २६०) । वस्तुतः दास प्रथा अत्यन्त कू्रर र अमानवीय रहेको तथ्य ऐतिहासिक सामग्रीहरूमा पनि पाइन्छ । यस महाकाव्यमा विष्णुलोक, त्रिविष्टप, वरुणलोक आदि ठाउँका राजमार्गको निर्माण दासहरूबाटै गराइएको उल्लेख गरिएको छ । साँच्चि भन्दा बिडम्बनाको कुरा त के छ भने विश्वका ठुलठुला सभ्यताको निर्माण अमानवीय दास प्रथाबाटै भएको देखिन्छ (गाबा, सन् १९९८ ः २६०) । सँगसँगै त्यही दास प्रथाका विरुद्ध ठुलठुला विद्रोह भएको सन्दर्भ पनि यस महाकाव्यमा प्रस्तुत गरिएको छ ।
जमिनको ठुलो क्षेत्रफल ओगटेका स्वामी वा मालिक वर्गले आफ्ना दास वा निम्न वर्गका गरिबहरूलाई केही जमिन उपलब्ध गराई कुत वा अतिरिक्त श्रम गराएर गरिने शोषणको व्यवस्था सामन्तवाद हो (उपाध्याय, २०६८ ः २७१) । यस युगमा दास बनेर मालिकबाट बिक्री हुन, मारिन पनि सक्ने दास युगीन अमानवीय प्रणालीभन्दा केही उन्नत वा विकसित सामाजिक रूप पाइए पनि किसानका उपजको र किसानका अतिरिक्त श्रमको व्यापक शोषण हुने देखिन्छ । सामन्ती शोषण भनेको भूस्वामीहरूद्वारा कुतका रूपमा किसानहरूको अतिरिक्त उपज र बेठ बेगारका रूपमा अतिरिक्त श्रमको अपहरण हो (तामाङ्ग, २०६३ ः ८१) ।् प्रश्रितले देवासुर सङ्ग्राममा केही हदसम्म आफ्ना अधिकारप्रति सचेत भइ सकेका हुलका हुल दासहरूलाई कज्याएर भन्दा भिन्न तरिकाले टुक्रा जमिन नै उपलब्ध गराएपछि शोषणको प्रक्रिया अघि बढाउन सजिलो हुने निष्कर्ष शोषक वर्गको सम्मेलन मार्फत अघि सारिएको अभिव्यक्ति यसरी प्रस्तुत गरेका छन् ः
परन्तु खान पुग्दैन सानो टुक्रा जमिनको
आई शरणमा पर्छन् अर्धदास बनी सब
त्यो बेला अनि खेतीमा कूत तोकिदिएपछि
बगाउने छन् पसिना आफ्नो गर्ज परेपछि (प्रश्रित, २०४४ ः १९४) ।
मोदनाथ प्रश्रितले शासक वर्गले जनतालाई विभिन्न पेसा व्यवसायका आधारमा छुट्याएर पहिले नभएको वर्ण र जातको विभाजन पनि यसै सामन्तवादी युगमा गरेको उल्लेख गरेका छन् । यस्तो विभाजनको कुरा चार वेदमध्येको शुक्ल यजुर्वेदमा गरिएको देखिन्छ (प्रश्रित, २०५८ ः १७१) । प्रश्रितले यसै युगमा समाजमा धनी, गरिब, कथित ठुलो जात र सानो जात, धर्म, पाप, पुण्य अदि सबै नियम मालिकहरूले बनाएका र त्यति नै बेला बनाएका ती नियमले असचेत जनतामा त्यतिखेर पनि र अहिलेसम्म पनि ठुलो भ्रम छरेको देखाउन चाहेका छन् । त्यस खालका भ्रमको सार यस्तो छ ः
धनी गरिब किन भो ? भाग्यले पूर्वजन्मको
किन जात ठुलो सानो ? कर्मले पूर्वजन्मको
काँ छ त्यो भाग्य औ कर्म ? त्यो छ तिम्रै निधारमा
प्रतापी किन छन् राजा ? सन्तान सूर्यका हुँदा
धर्म के हो ? वेद आज्ञा मान्नु शासक वर्गको (प्रश्रित, २०४४ ः १९९) ।
देवासुर सङ्ग्राममा आदिम साम्यवादी युगलाई सत्य युग, दास युगलाई त्रेता युग भनेर छुट्याइएको छ भने सामन्तवादी युगलाई कलि युगका रूपमा चित्रित गरिएको छ । त्यसमा धार्मिक विभाजनको द्वापर भनिने युगको सन्दर्भ उल्लेख गरिएको देखिंदैन । यस महाकाव्यले मुख्यतः समाजमा विद्यमान शोषणको पृष्ठभूमिलाई ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादका आधारमा केलाउन खोजेको छ र त्यसमा धार्मिक युग विभाजनको अनुक्रम नमिले पनि आदिम साम्यवाद, दास तथा सामन्तवादी युगका पक्षहरू समाविष्ट भएका छन् । यस महाकाव्यले काव्यात्मक अभिव्यक्तिमा उक्त ऐतिहासिक समाज विकासका विस्तृत पक्षको सङ्क्षेपमा जानकारी गराउने र मानव इतिहासलाई बुझेर वर्तमानलाई चिन्न तथा आगामी यात्रा व्यवस्थित गर्न राम्ररी दिशा निर्देश गरेको पाइन्छ ।
२.२ देव र असुरको सङ्ग्राम ः वर्गीय सङ्ग्राम
मोदनाथ प्रश्रितको देवासुर सङ्ग्राममा पौराणिक कालको देव र असुर पक्षका बिचको युद्ध वा सङ्ग्रामलाई शोषक एवं शोषित, उत्पीडक एवं उत्पीडित, शासक एवं शासित, सम्पन्न एवं विपन्न, आक्रामक एवं आक्रमित, उच्च एवं निम्न वर्गको वर्गीय सङ्ग्रामका रूपमा प्रस्तुत गरिएको छ । यसमा प्रमुख प्रतिद्वन्द्वी समूहका रूपमा आदित्य वंशी देवहरू इन्द्र, वृहस्पति, दशरथ, विष्णु, ब्रह्मा आदि रहेका छन् भने दैत्य वा असुर समूहमा विश्वरुप, वृत्रासुर, शुक्राचार्य, रावण, मधु कैटभ, हिरण्य कशिपु, हिरण्याक्ष, शुम्भ, निशुम्भ, महिषासुर आदि चरित्र प्रस्तुत गरिएका छन् । यी सबै चरित्र पौराणिक भए पनि सकारात्मक रूपमा प्रस्तुत हुने गरेका देवहरू नकारात्मक र नकारात्मक रूपमा चित्रित गर्ने गरिएका असुरहरू सकारात्मक रूपमा प्रस्तुत गरिएका छन् । समाजमा स्थापित आस्था र मान्यताभन्दा पृथक् रूपमा ती चरित्र र तिनका कार्यलाई यस महाकाव्यमा विनिर्मित गरिएको छ र तिनको विनिर्मिति समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक विभेदका साथै सामाजिक अन्ध विश्वास र धार्मिक प्रचलनका गलत परम्परालाई चिर्न भएकाले सोद्देश्यपरक पनि छ ।
प्रस्तुत महाकाव्यमा देव पक्षलाई दासस्वामी, सामन्त, जमिन्दार वा राजाजस्ता शोषक वर्गका रूपमा अनि असुर पक्षलाई मरिमेटी कठोर श्रम गर्ने दास, किसान वा श्रमिक तर शोषित भइ रहेका वर्गका रूपमा रूपान्तरित गरिएको छ । उपर्युक्त भिन्न पक्षमा जातीय रूपमा बाहुन, क्षेत्री र वैश्य पनि शोषक वर्गमा अनि शूद्रहरू शोषित वर्गमा, पुरुषहरू शोषक वर्गमा अनि नारीहरू शोषित वर्गमा, आर्य जाति शोषक वर्गमा तथा अनार्य तथा आदिवासी जनजातिहरू शोषित वर्गमा प्रस्तुत गरिएका छन् । प्रश्रितले उक्त भिन्न समूहको द्वन्द्वलाई वर्गीय द्वन्द्वका रूपमा चित्रित गरेका छन् । शिवलोक (नेपाल)मा बस्ने शिवलाई भने अनार्य वा किरातेश्वरका रूपमा प्रस्तुत गरी तटस्थ भूमिका प्रदान गरेका छन् ।
प्रस्तुत महाकाव्यको थालनीमा मास्टर तथा खेतारा चरित्रहरूका संवादमा अहिलेको समाजमा चर्को वर्गभेद व्याप्त रहेको उल्लेख गरिएको छ र त्यसको कारणको जिज्ञासा पनि राखिएको छ । उक्त जिज्ञासामा गरिब श्रमिकले कडा परिश्रमका साथ खेतमा पहेँलै धान फलाए पनि त्यसको उपयोग गद्दामा पल्टने मालिक वर्गले गर्ने, गरिब श्रमिकका छोराछोरी खान नपाएर देश विदेश भौँतारिन बाध्य हुने तर तिनै मालिक वर्गका छोराछोरीहरू कारमा सैर गर्दै हिँड्ने किसिमको अन्याय किन भएको होे भन्ने प्रश्न गरिएको छ । परिश्रमी गाउँले किसानले पढालेखा मास्टरसँग अघि सत्य युग भनिएकामा सबैतिर न्याय र सदाचार थियो भन्ने पण्डितको भनाइ भए पनि अहिले किन यस्तो विडम्बना देखा परेको हो भनी सविस्तार जान्न चाहेका छन् र प्रत्युत्तरमा मास्टरले किसानको जिज्ञासालाई जायज ठह¥याउँदै सत्य युग भनिएको आदिम समाजमा वर्गभेद पनि नभई शोषणको परिपाटी पनि नरहेको सन्दर्भ प्रस्तुत गरेको देखिन्छ ।
मोदनाथ प्रश्रितले मुख्यतः अहिलेको समाजमा जुन प्रकारको धनी र गरिबको, शोषक र शोषितको, मालिक र नोकरको वर्गभेद छ त्यसको मूल कारण आदिम समाजपछि दास युग तथा सामन्तवादी युगमा देखा परेको निजी सम्पत्ति राख्ने प्रचलन हो भन्ने व्याख्या गरेका छन् । उनले उत्पादन पद्धति अनुसार समाजको व्यवस्था निर्धारित हुने उल्लेख गर्दै आदिम कालको सामुदायिक भावना मेटिएर निजी वा व्यक्तिगत सम्पत्ति सञ्चय गर्ने भावनाको विकास भएपछि नै मानिसमा वर्गभेद थालिएको अभिव्यक्ति प्रस्तुत गरेका छन् । उनले वर्गीय व्यवस्थामा उच्च सम्पन्न वर्गका मान्छेले निम्न एवं विपन्न वर्गका मान्छेमाथि शोषण मच्चाएर अन्याय र अत्याचार थोपर्ने र त्यसलाई तत्कालीन राज्य व्यवस्था र अन्य सामाजिक सांस्कृतिक प्रचलनले पनि आड प्रदान गर्ने उल्लेख गरेका छन् । ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी मान्यता अनुसार आदिम साम्यवाद वर्ग सङ्घर्ष रहित समाजको तथा त्यसपछिका दास, सामन्ती तथा पुँजीवादी समाज चाहिँ वर्ग सङ्घर्षयुक्त रहेका हुन्छन् (ढकाल, २०६४ ः २६) । प्रश्रितले पनि देवासुर सङ्ग्राममा त्यसै मान्यतालाई प्रस्तुत गरेका छन् । उनले दास समाजमा देव पक्ष शोषक, विलासी र अल्छी समूहका रूपमा र असुर तथा दास वर्ग चाहिँ जाँगरिला, मेहेनती र शोषित वर्गका रूपमा रहेको चित्रित गरेका छन् । उनले सामन्तवादी समाजमा पनि देव पक्ष सामन्त र जमिन्दार वा राजाका रूपमा तथा दास वा असुर पक्ष श्रमिक एवं मेहेनती किसानका रूपमा प्रस्तुत भएका जनाएका छन् । प्रश्रितले सामन्तवादपछिको पुँजीवादी वा समाजवादी समाजको चित्रण यस महाकाव्यमा नगरेका भए पनि आगामी समाजवादी र साम्यवादी समाज समानतायुक्त र साम्यवादी समाज त वर्ग सङ्घर्ष रहित समेत हुने सङ्केत गरेका छन् ।
मोदनाथ प्रश्रितले देव पक्षका विष्णुको चरित्रमा विलासी राजा वा चाकरी खोज्ने दास मालिकको चरित्राङ्कन गरेका छन् । विष्णुले आफ्नै आदित्य वंशी ब्रह्मा समेतका इन्द्रहरू आएर आफूहरूलाई असुरहरूले लखेटेकाले सहयोग गर्न आग्रह गर्न खोज्दा टेर्दै नटेरी चाकडी र प्रशंसा खोजेको देखाइएको छ । लचक्कको गद्दामाथि लक्ष्मीको म्वाइ खाँदै वरिपरि दासीहरूलाई राखेर मोजका साथ बसेका विष्णुलाई ब्रह्मा र इन्द्रहरूले दास वर्गका परमेश्वर, अनाथका नाथ, मालिक वर्ग समेतका पालन कर्ता, महाशक्ति, देव देवेश्वर आदि विशेषताले स्तुतिगान गरेपछि मात्र प्रसन्न भएर आउनुको कारण सोधेको उल्लेख यस महाकाव्यमा गरिएको छ । यसबाट विष्णुको स्वभाव चाकडी खोज्ने भोगी र विलासी दास मालिकका साथै सामन्त राजाको स्वभावसँग मिल्दो रहेको देखिन्छ । साथै विष्णुको ठुलो जमिन्दारी, बिर्ता र हजारौँ कमारामाथि पनि उपनिवेश रहेको अभिव्यक्ति देवासुर सङ्ग्राममा प्रस्तुत गरिएको छ । यसमा ब्रह्मालाई पनि ठुलो सैन्यशक्ति सहित पितृसत्ता चलाएर बसेका दासका मालिकका रूपमा प्रस्तुत गरिएको छ ।
मोदनाथ प्रश्रितले इन्द्रलाई पनि दासस्वामी तथा सामन्त राजाका रूपमा प्रस्तुत गरेका छन् । असुर पक्षमाथि विजय प्राप्त गरेपछिको इन्द्रको घोषणाले दासस्वामी समाजका मालिक वर्गका भनाइलाई यसरी प्रस्तुत गरेको पाइन्छ ः
यी हाम्रा गणका नारी पक्डिएका प्रजाहरू
भए हाम्रा दासदासी म स्वयंभू प्रजापति
छैन संसारमा कोही ममाथिको ठुलो अब (प्रश्रित, २०४४ ः ११०) ।
देवासुर सङ्ग्राममा इन्द्रले दासस्वामी समाजको उक्त घोषणा गरेपछि आफू र आफ्नो व्यवस्थालाई सुरक्षा प्रदान गर्ने सेना र गाउँहरूमा शासन सञ्चालन गर्न मुखियाको चयन गर्ने घोषणा पनि गरेको पाइन्छ । मातृसत्ताका ठाउँमा पितृसत्ताको घोषणाका साथै निजी सम्पति राख्न र निजी पत्नी राख्न पाउने नियम पनि बनाएको देखिन्छ । इन्द्रद्वारा आफ्नो शासनका खिलाफमा विरोध गर्नेलाई कि देश निकाला गर्ने कि दास वा कमारो बनाउने उर्दी पनि जारी गरिएको छ । पितृ सत्तात्मक समाजका दास व्यवस्थाको मुखिया बनेका इन्द्रका सो घोषणाबाट बिस्तारै दास एवं नारीहरूमा विरोधको भावना पनि थालिएको पाइन्छ ।
मोदनाथ प्रश्रितले आदित्य वंशीहरूले आफ्नो राज्य विस्तार गरेर कायम गरेका उपनिवेशका जनजातिहरू पनि आर्य अहङ्कारवादका विरुद्धमा एकत्रित हुन थालेको देखाएका छन् । यसमा देव पक्ष आदिवासीमाथि अतिक्रमण गर्ने विस्तारवादी तथा तिनको अतिक्रमण भोग्नेहरू ती ती ठाउँका आदिवासी जनजातिका रूपमा प्रस्तुत भएका छन् । यसमा बन्दी बनाइएका र आर्यभित्रकै वर्ण र जातिको विभाजनमा वर्गीकृत भई अपमानित गरिएका शूद्रहरू पनि वर्गीय मुक्तियुद्धमा सहभागी हुन उद्दत भएका पाइन्छन् । प्रश्रितले वर्गीय शोषणका विरुद्धको युद्धमा पहिलेदेखि नै ती ठाउँमा बसि आएका जन जातीय आक्रोश समेत एकमुष्ठ भई त्यसले शक्तिशाली स्वरूप धारण गरि रहेको यथार्थलाई पनि प्रस्तुत गरेका छन् । हुन पनि यस महाकाव्यमा आदित्य वंशीका रूपमा रहेका विष्णु, ब्रह्मा, वरुण, इन्द्र, मनु आदि सबैले ती ती ठाउँमा रहेका आदिवासी कविला समूहलाई मारेर, लखेटेर, बन्दी बनाएर आआफ्ना राज चलाएका छन् । पुराणमा त्यसरी जनजातिकै सन्दर्भ उल्लेख नगरिएको भए पनि नेपाली सन्दर्भलाई मिलान गर्न प्रश्रितले त्यसो गरेका छन् । यस महाकाव्यमा काला, नेप्टा, पहेँला, पुड्के, आदि जनजातिका साथै स्वर्णद्वीप, दक्षिण भारत आदि क्षेत्रका देव पीडित असुरहरू इन्द्रको दासस्वामी शासनका विरुद्ध भीषण युद्धको तयारीमा लागेका छन् ।
देवासुर सङ्ग्राममा आफ्नो युद्ध जातीय, क्षेत्रीय वा काला गोराको रङ्गीय नभई अर्काले गरेका कठोर परिश्रमलाई लुट्ने र लुटिने, अर्काको देश मिच्ने र मिचिनेका विरुद्ध भएको अभिव्यक्ति दिई असुर पक्षीय सङ्घर्षलाई वर्गीय सङ्ग्रामका रूपमा प्रस्तुत गरिएको छ । यसमा असुर पक्षको युद्धलाई वर्गीय युद्धका साथै न्यायका पक्षको युद्धका रूपमा यसरी प्रस्तुत गर्न खोजिएको छ ।
कालो, गोरो, पहेंलोको रङ्गको हैन शत्रुता
हाम्रो हो शत्रुता खालि दुई सिद्धान्त बीचमा
अर्काको श्रम लुट्ने र लुटिनेहरू बीचमा (प्रश्रित, २०४४ ः ११५–१६) ।
देवासुर सङ्ग्राममा प्रस्तुत असुरले देव पक्षकै पनि उपेक्षित वर्गको सहानुभूति लिँंदै गएकाले युद्धमा देव पक्ष कमजोर भइ रहेको पनि देखा पर्छ । असुर पक्षका युद्धमा वर्गीय पक्ष र उत्पीडित जाति जनजातिको भावनात्मक सहभागिता समेत भएकाले त्यसले शक्ति आर्जन गर्न पुगेको छ । यस क्रममा असुर पक्षको महिषासुरले त इन्द्रको दरबारमै कब्जा जमाउन पुग्छ । आपत्मा परेका इन्द्रले कन्दरामा राजसभा बोलाई राष्ट्रिय सङ्कटबाट मुक्तिका लागि आग्रह गर्दा जनतालाई अपमानित गर्ने, तिनीहरूका अधिकार खोस्ने, हतियार पनि आफैले जम्मा गर्ने, आफ्नै जनतालाई मालिक र दास वर्गमा विभाजित गरी फुटाउने, नारीको अधिकार कटौती गरी चरणकी दासीका रूपमा परिणत गर्नेले अहिले सहयोग माग्न मिल्छ ? भनेर दास वर्ग र नारीहरूले यसरी गम्भीर प्रश्न खडा गरेका छन् ः
आज के नाकले सोध्छौ दासदासीहरूसित
राष्ट्राभिमान हामीमा दियौ कैले पलाउन ?
के खाँचो छ कमारा र कमारीलाई राष्ट्रको (प्रश्रित, २०४४ ः १२०) ।
दासदासीहरूका उपर्युक्त भनाइसँग माक्र्स र एङ्घेल्सको “सर्वहारा वर्गलाई सबभन्दा पहिले राष्ट्रिय वर्गको स्थानसम्म पुग्नु परेको छ (माक्र्स र एङ्घेल्स, २०६४ ः ४३)” भन्ने भनाइको आशय पनि मिल्न आउँछ । जब दासस्वामी वा सामन्त शासकले सर्वहारा वर्ग र नारीलाई राष्ट्राभिमान र नागरिक सम्मानको गौरवबोध गर्ने वातावरण दिएका छैनन्् भने राष्ट्रिय सङ्कट परेका बेला कुन मुखले सहयोग माग्न मिल्छ ? यसबाट प्रश्रितले देव र असुर पक्षको युद्धलाई स्वाभाविक रूपमै वर्गीय युद्धमा रूपान्तरित गरेको देखिन्छ ।
यस महाकाव्यमा असुर पक्ष युद्धमा हावी हँुदै गएपछि ब्रह्मा, विष्णु, इन्द्र आदि सबैले नारी शक्तिको महानताको पूजा आराधना गरी नारीलाई अपमानित गर्ने गल्ती कहिल्यै नगर्ने बाचा गरेर मनाएपछि युद्धमा सन्तुलन कायम हुन्छ । त्यसपछि शिवका मध्यस्थतामा शान्तिवार्ता भई सो वार्ता सम्मानजनक अवस्थामै टुङ्गिन्छ पनि । उक्त वार्तामा पनि देव पक्षका तर्कमा फट्याइँ तथा असुर पक्षका तर्कमा वास्तविकता र वैज्ञानिकता प्रकट भएको देखिन्छ । विष्णुले पनि असुर पक्षका तर्कलाई साथ दिंँदै यसो भन्छन् ः
श्रम जस्को भूमि उस्कै ठीक हो शुक्रको कुरो
अरु तेरो र मेरोको आधार छैन क्यै पनि (प्रश्रित, २०४४ः १३४) ।
मोदनाथ प्रश्रितले युद्ध विराम भएर देव र असुर शक्ति संयुक्त भई काम गर्दा निकै बढी फाइदा हासिल गर्न सकेको सन्दर्भलाई पनि देवासुर सङ्ग्राममा प्रस्तुत गरेका छन् । मिलेर गरिएको “समुद्र मन्थन“ नाम दिइएको योजनाबद्ध विकासको काममा बहुमूल्य वस्तु प्राप्त गर्न सकिएको कुरो त्यस प्रसङ्गमा उल्लेख गरिएको छ । प्रश्रितले देव र असुर पक्ष मिलेर गरेको कार्यलाई साम्यवादी समाज निर्माण भएपछि त्यसै प्रकारको सुख समृद्धि हासिल गर्न सकिने सङ्केत गर्न चाहेको बुझिन्छ । समुद्र मन्थनको यस अभियानमा पनि अल्छी र कामचोर तथा भोग र विलासमा मात्र रमाउन खोज्ने देव पक्षका कारण पुनः द्वन्द्व मच्चिन पुगेको अभिव्यक्ति यस महाकाव्यमा प्रस्तुत गरिएको छ । यसबाट बसी खाने र अल्छी वर्गका रूपमा देव पक्ष नै देखिएको कुरा प्रस्तुत गरिएको पाइन्छ ।
प्रस्तुत महाकाव्यमा तत्त्वज्ञानी भनिएका ऋषिहरूलाई चिन्तन मनन गर्न लगाएर वर्गीय शोषणलाई दिगो बनाउनका निम्ति नै जन्म र पुनर्जन्म, ईश्वर, भाग्य, पाप, पुण्य, स्वर्ग, नरक, आदि रहस्यका कुरा बुनिएको कुरो व्यक्त गरिएको छ । सामन्त वर्गले अज्ञानी जनतालाई पाप र धर्मको जालमा पारेर, वर्ण र जातको विभाजन खडा गरेर, नारीमा पति नै परमेश्वर हुन् भन्ने अमानवीय भावना भरेर, राजामा ईश्वरीय स्वरूप रहने फट्याइँ गरेर सोझा जनता र तिनको कठोर श्रमको शोषण गरेको कुरो यस महाकाव्यमा प्रस्तुत गरिएको छ । देव पक्षको सो शासनलाई वर्गीय शासनका रूपमा प्रस्तुत गरेका प्रश्रितले पुनः रावणका नेतृत्वमा उत्पीडित वर्ग, जाति, जनजाति, आदिवासीहरू र अनार्य सबै अग्रसर भइ रहेको चित्रण गरेका छन् । त्यस किसिमको युद्धको घोषणामा सामन्तवादी प्रवृत्तिको विरोध यसरी प्रकट गरिएको छ ः
गुठी बिर्ता जमिन्दारी पारिदेऊ झिराझिरा
स्वदेशी जनता मारी यज्ञभाग उठाउने
राखी मन्दिरमा पोस्ने लुच्चा शोषक वर्गमा
हुँदैन भेदले मात्र अब आर्य अनार्यको
मिसाई खिचडी पाकी सारा छ्यास्मिस भैसक्यो
त्यसैले अब छुट्याऊ अब पीडक पीडित (प्रश्रित, २०४४ ः १७५) ।
प्रस्तुत महाकाव्यमा राज्यसत्ताका मालिक क्षत्री तथा धर्मसत्ताका मालिक भनिएका ब्रह्मणका बिचमा पनि मतभेद भएपछि शोषक वर्गमा पनि अन्तद्र्वन्द्व बढेको अनि परशुरामले थुप्रै क्षत्रीहरूको हत्या गरेको सन्दर्भ पनि प्रस्तुत गरिएको छ । त्यसमा पुनः ती दुवै ब्राह्मण र क्षेत्री मिलेर सामन्ती शोषणलाई बलियो बनाउन संयुक्त प्रतिबद्धता व्यक्त गरेका भए पनि तिनैमा पनि धनी र गरिबको भेद रहने तथा धनी ब्रह्मण र क्षेत्रीका विरुद्ध गरिब ब्राह्मण र क्षेत्रीले वर्गीय युद्ध लड्ने अभिव्यक्ति प्रस्तुत गरिएको छ । प्रश्रितले जबसम्म शोषणको अन्त्य भई संसारका सबै मानिसलाई सम्मानका साथ बस्ने अधिकार प्राप्त हुँदैन तबसम्म सम्पूर्ण श्रमिक वर्गले एकताबद्ध भई सङ्घर्ष गरि रहने प्रगतिवादी मान्यता देवासुर सङ्ग्राममा व्यक्त गरेका छन् ः
यो देवासुर सङ्ग्राम चलिराख्छ सदै सदैं
धर्ती हुन्न जहाँसम्म मान्छे भै बस्न लायक (प्रश्रित, २०४४ ः २२१) ।
वस्तुतः देवासुर सङ्ग्राम महाकाव्यको विषय स्रोत वेद, पुराण, श्रुति, स्मृति आदि भए पनि यसले वर्तमान र भावी समाजमा समेत जारी रहने वर्ग सङ्घर्षलाई केन्द्र बनाई तदनुसार अन्तर्वस्तुको विन्यास गरेको छ । त्यसका लागि यसले हिन्दू धार्मिक मान्यता अनुसारका सम्पूर्ण आख्यान चूर्ण तथा देव समूह र असुर समूहका कार्यहरूलाई विपरीत आशय र विचार अनुसार बदल्ने काम गरेको छ । प्रगतिवादी मान्यतामा शोषक वर्ग यथास्थितिमा रमाउने, श्रममा विश्वास नगर्ने, अरूको श्रममा आँखा गाड्ने शक्ति हो भने शोषित वर्ग प्रगति चाहने, श्रममा भर पर्ने, अरूको कमाइप्रति पनि सम्मान व्यक्त गर्ने शक्ति हो । यस महाकाव्यमा शोषकको चरित्र लिएर देव र शोषितको चरित्र लिएर असुर पक्षलाई प्रस्तुत गरिएको हुनाले देवासुर सङ्ग्रामलाई वर्ग सङ्ग्रामका रूपमा प्रस्तुत गरिएको छ र सो सङ्ग्राम संसारबाट शोषण उत्पीडनको समाप्ति नभएसम्म जारी रहने मान्यता पनि प्रस्तुत गरिएको छ ।
२.३ मातृसत्ताको अन्त्य र नारी उत्पीडन
देवासुर सङ्ग्राममा आदिम मातृ सत्तात्मक समाजको अन्त्य र पुरुष सत्तात्मक सामाजिक संरचनाको थालनीबाट नारीमाथि अमानवीय शोषण र दमन थोपरिएको उल्लेख गरी समानतापूर्ण समाज निर्माणको आकाङ्क्षा व्यक्त गरिएको छ । मोदनाथ प्रश्रितले खेतारा र मास्टर चरित्रका संवादबाट “सत्य युग” भनिएको आदिम समाजमा मातृतन्त्री व्यवस्था रहेको, त्यसमा नारीहरूले पुरुषहरूले भन्दा बढी सम्मान प्राप्त गरेको उल्लेख गरेका छन् । जङ्गली अवस्थामा रहेको त्यस समाजमा बाबु को हो भनेर छुट्याउन नसकिने र आमाले सन्तान जन्माई दुध चुसाएरै पालन पोषण गर्ने हुनाले चिनिनुका साथै आमाकै नामबाट वंशानुक्रमको परिचय हुने र गोत्र आमाबाटै छुट्टिने प्रचलन रहेकाले अदितिका सन्तान आदित्य, दितिका सन्तान दैत्य तथा वसुका सन्तान वासव हुन पुगेको उदाहरण पनि प्रस्तुत गरेका छन् । त्यतिखेरको समाजका सम्पूर्ण काम कुराको निर्देशन पनि नारीबाटै हुने गरेको देखिन्छ । स्टालिनले पनि आदिम मातृ प्रधान समाज अन्तर्गत महिलाहरूले नै उत्पादनको नियन्त्रण गर्दथे भन्ने कुरा प्रस्तुत गरेका छन् (जेटकिन, २०६३ ः १) ।
देवासुर सङ्ग्रामामा सर्व प्रथम देवताहरूबाटै नारीको अधिकार खोस्ने काम गरिएको र पुरुषको अधिकार कायम गराइएको कुरो प्रस्तुत गरिएको छ । सो कुरा असुरबाट पराजित भई गुहार माग्न ब्रह्मलोक पुग्दा इन्द्र र वृहस्पति लगायतका आदित्यहरूका अगाडि त्यहाँका गाउँलेले व्यक्त गरेका निम्न अभिव्यक्तिबाट प्रस्ट हुन्छ ः
पितृसत्ता चलेको छ उनी नै छन् प्रजापति
नारीको मूल्य के आज सारा दासी समान छन्
खेतीको जुग के आयो नारीका त दिनै बिते (प्रश्रित, २०४४ ः ७२)
देवासुर सङ्ग्राममा आदित्य गणबाट पहिलै छुट्टिएर विष्णुलोक निर्माण गरेर बसेका विष्णुले आफ्ना वरिपरि थुप्रै दासीहरूलाई सेवामा लगाएर भोग र विलासमा चुर्लुम्म डुबेको सन्दर्भले पनि पितृसत्ताका लक्षणहरू प्रकट गरेको छ । यसमा प्रस्तुत ब्रह्मलोक र विष्णुलोकका गतिविधिले मातृसत्ताको अन्त्य भई पितृसत्ताको थालनी भएको र त्यहाँ नारीहरूका अधिकार कुण्ठित भई पुरुषका खुट्टा मिच्ने, पङ्खा हम्कने अनि रक्सी पिलाउने आदि कार्यमा अवमूल्यित हुन पुगेको यथार्थलाई उतारिएको छ ।
मातृसत्ताको अवसानपछि नारीले महामाताको पद गुमाएका, निजी पत्नी प्रथाका कारण बाबु नै प्रष्ट चिनिई बाबुकै नामबाट वंश र गोत्रको प्रचलन थालिएको, पति पत्नी आ–आफ्ना रोज्नु पर्ने, नारीले पतिब्रता धर्मको पालना गरी बस्नु पर्ने तथा लोग्नेले बढी पत्नी राखे पनि हुने खालको अन्यायपूर्ण प्रचलन थालिएकोे उल्लेख देवासुर सङ्ग्राममा गरिएको छ । शक्ति हात पारेका पुरुषले नारीलाई कसरी दमन र उत्पीडनमा पारेर नियन्त्रण कायम गर्नु पर्छ भन्ने कुरा दशरथले इन्द्रादि देवतालाई यसरी सिकाएको कुरा प्रस्तुत गरिएको छ ः
उसको निम्ति हो लोग्ने साक्षात् ईश्वर नै भनी ।
जो नारी एक पतिमा सधैं बस्छिन् पतिब्रता
खुट्टाको जल खाएर निष्ठावान् बन्दछिन् सती ।
भई चरणकी दासी गर्छिन् पूजन सेवन (प्रश्रित, २०४४ ः १८०) ।
मोदनाथ प्रश्रितले नारीहरूलाई पठनपाठनबाट वञ्चित गरेर पनि देव पक्षका शासकहरूले शोषण गर्ने गरेको सन्दर्भ देवासुर सङ्ग्राममा प्रस्तुत गरेका छन् । उनले ज्ञान प्राप्त गरेका नारीहरू आफ्नो र अरूको कर्तव्य र अधिकारबाट सुपरिचित भई सही र तर्कपूर्ण कुरा गर्दछन् भनी सो ज्ञानबाटै अलग्गै राख्ने नियम बनाइएको सन्दर्भ पनि यसमा प्रस्तुत गरिएको छ । प्रश्रितले देव पक्षबाट नारी र शूद्रलाई अपमानित गर्दै “नारी शूद्रहरूलाई पार्नु पर्छ निरक्षर” भन्ने नियम बनाएर नारीलाई पढ्नबाट पनि वञ्चित पारिएको उल्लेख गरेका छन् । यसैले पण्डितहरूले व्रतबन्धपछि छोरालाई वेद पढाउन सुरु गर्ने तर छोरीले वेद पढ्न हुन्न भन्ने प्रचलन समाजमा चलाएको पाइन्छ । सो कुरा नारीलाई शिक्षा र चेतनाबाट पूर्णतः टाढै राखी शोषण गरि राख्ने पुरुषकै षड्यन्त्रको उपज हो र प्रश्रितले पनि सो यथार्थलाई प्रस्तुत गरी नारीमाथि भेदभाव गर्ने प्रवृत्तिको विरोध गरेका छन् । नेपाली समाजमा पुरुषका तुलनामा नारीको अद्यावधि बाँकी रहेको निरक्षरता र सम्पूर्ण शिक्षित क्षेत्रमा नारीको असहभागिता र पहँुचको अभावको यो नै महत्त्वपूर्ण कारक हो भन्न सकिन्छ ।
पौराणिक कालमा शक्तिशाली व्यक्ति वा देवतालाई खुसी बनाउनु प¥यो भने पनि उपहार स्वरूप नारीलाई चढाउने प्रचलन रहेको कुरा देवासुर सङ्ग्राममा प्रस्तुत गरिएको छ । असुरसँग पराजित भएका आदित्यहरू सहयोग माग्न शिवलोक जाँदा शिवलाई खुसी पार्न दक्ष प्रजापतिकी छोरी सतीलाई उपहार स्वरूप प्रदान गरेका, देव र असुरका बिच भीषण युद्ध भएपछि र आफ्नो स्थिति झन् झन् खस्किंदै जान थाली शिवको मध्यस्थतामा वार्ता मिलेपछि पनि असुर पक्षका वार्ता प्रतिनिधि शुक्रलाई मनाउन इन्द्रकी छोरी जयन्तीलाई उपहार स्वरूप प्रदान गरेका अनि असुर पक्षलाई रक्सी खुवाउँदै तथा आफ्नो नक्कले चालढाल प्रदर्शन गरेर भुलाइ राख्ने काममा समेत मोहनी रूपधारी नारीहरूकै उपयोग गरिएको सन्दर्भले त्यही कुरा व्यक्त गर्छ । त्यति मात्र होइन नारीहरूलाई वस्तु सरह बिक्रीका साधन नै मान्ने प्रचलनका रूपमा अहिले विभिन्न सुन्दरी प्रतियोगिताहरू पनि हुने गरेका छन् र ती प्रतियोगिताबाट छानिएका नारीहरूलाई विभिन्न व्यापारिक वस्तुको बिक्री बढाउनका निम्ति पनि प्रयोग गर्ने गरिन्छ । यो सुन्दरी छान्ने र वस्तुको बिक्रीका निम्ति तिनको उपयोग गर्ने कार्य पनि नारीलाई उपयोग गर्ने परिष्कृत र आधुनिक विधि मात्रै हो । यस महाकाव्यको उक्त प्रसङ्गले त्यसैको पूर्वरूपलाई देखाउन खोजेको छ ।
देवासुर सङ्ग्राममा पौराणिक सन्दर्भका कतिपय सन्दर्भमा नारीलाई शक्तिशाली र कुशल योद्धाका रूपमा पनि प्रस्तुत गरिएको देखिन्छ । त्यसमा पनि चाहिँदा उपयोग गर्ने तर काम सिद्धिएपछि शाक्तिहीन पारि दिने गरिएको देखिएको छ । असुर पक्षसँग घमासान युद्ध भइ रहेको र इन्द्र, विष्णु, ब्रह्मा आदिका सेनाहरू धमाधम मारिएर भयावह स्थिति सिर्जना भएका बेला देवताहरू सबैले नारी शक्तिको पूजा आराधना गरेर तथा आफूले नारीहरूमाथि अन्याय गरेकोमा आत्मालोचना गरेर फकाउने प्रयत्न गरेका छन् तर युद्धमा विजय प्राप्त गर्दा बित्तिकै शक्तिहीन पार्ने अन्यायपूर्ण काम पनि गरेका छन् ।
देवासुर सङ्ग्राममा अहिलेको समाजभित्र नारीले भोग्नु परेका परिवार, समाज र राज्यका विभिन्न विभेदको पृष्ठभूमि दास तथा सामन्ती युगकै उपज भएको यथार्थ प्रस्तुत गरेका छन् । उनले मूलतः कृषि, पशु पालन वा यस्तै विभिन्न क्षेत्रको उत्पादनमा पुरुष वर्चस्व र त्यसमा निजी स्वामित्वको खोजका कारण नारीमाथिको असमान व्यवहार बढेको भन्ने तर्कमा सहमत हुँदै पुरुषको अतिरिक्त विलासिता र शक्तिको आकाङ्क्षाका कारण यो समस्या झन् विकराल बनेको उल्लेख गरेका छन् । प्रश्रितले यसै कारण पुरुषले अन्ध धार्मिकताका विभिन्न भ्रमहरू खडा गरेको र आफू मालिक बनेर नारी लगायतका अन्य समूहलाई पनि अमर्यादित व्यवहार प्रदर्शन गर्न पुगेको यथार्थता प्रस्तुत गरेका छन् । साथसाथै मातृ सत्तात्मक समाजमा पुरुष अन्यायमा नपरेको तर पितृ सत्तात्मक समाजको उदय भएदेखि नै नारीहरू अधिकार विहीन बनेको सन्दर्भ पनि प्रस्तुत गरी सामाजिक असमानताको निर्माणमा पुरुषकै दोष रहेको किटान पनि गरेका छन् । उपर्युक्त सबै असमानताको मूल कारण सामूहिक सम्पत्तिका ठाउँमा निजी सम्पत्तिको थालनी नै भएको देखिएकाले प्रश्रितले त्यही निजी सम्पत्तिको उन्मूलन भएको समाजवादी र साम्यवादी समाजमा नारी अधिकार स्थापित हुने निष्कर्ष प्रस्तुत गरेका छन् ।
२.४ अन्ध विश्वासको निषेध तथा वस्तुवादी जीवन पद्धतिको अपेक्षा
देवासुर सङ्ग्राममा दास युग तथा सामन्तवादी युगका शासक एवं शोषक वर्गले खडा गरेका अनेकौँ धार्मिक, सामाजिक एवं सांस्कृतिक अन्धता तथा यथार्थ विरोधी पक्षहरूका पर्दा उघारेर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यता अनुरूपको वस्तुवादी जीवन पद्धतिको अपेक्षा गरिएको छ । मोदनाथ प्रश्रितले यस महाकाव्यमा आदिम समाजमा प्राकृतिक शक्तिका रूपमा रहेका अग्नि, सूर्य, जल, पृथ्वी, वायु आदिको पूजा गर्ने सामान्य परिपाटी देखिए पनि त्यसमै भर पर्ने संस्कार नरहेको तथा दास युग अनि सामन्तवादी युगको थालनी पश्चात् शासक वर्गबाट नै परोक्ष एवं रहस्यमय शक्तिको निर्माण गरी अशिक्षित जनतामा अनेकौँ अन्ध विश्वासका भ्रमहरू फैलाइएको विचार प्रस्तुत गरेका छन् । यसमा दास युगीन समाजमा छलछाम र षड्यन्त्रबाट असुर पक्षका पराजित मानिसलाई बन्दी बनाएपछि अनि निजी सम्पत्तिको थालनी र मातृसत्ता तोडी पितृसत्ताको थालनी गरेपछि इन्द्रले नै आफू अन्तर्गतका जनतालाई डण्डाले मात्र नियन्त्रणमा लिन नसकिने देखेपछि वेदका विधान भन्दै अन्ध विश्वासका अनेकौँ भ्रमहरू सिर्जना गर्न लगाएको धारणा प्रस्तुत गरिएको छ ।
अन्ध विश्वास भनेकै प्रत्यक्ष देख्न नसकिने, छाम्न नसकिने तर दिमागमा असर गर्ने कुराहरू हुन् । द्वन्द्ववाद विरोधी यस्ता मान्यताले आँखाका अगाडि प्रत्यक्ष रहेको दुनियाप्रति अविश्वास गरेर संसार सिर्जना गर्ने अर्कै सत्ताको खोजी गर्दछ (ढकाल, २०६४ ः १०) । देवासुर सङ्ग्राममा पनि मोदनाथ प्रश्रितले तर्क र बुद्धिद्वारा पुस्टि हुन नसक्ने भ्रमहरू सिर्जना गरेर त्यसकै भुलभुलैयामा राखी अज्ञानी जनतामाथि शासक वर्गले शोषण र शासन गर्ने परिपाटीको निर्माण गरेको उल्लेख गरेका छन् । त्यसरी निर्माण गरिएका जालहरूमा जन्म र पुनर्जन्म सम्बन्धी मान्यता पनि महत्त्वपूर्ण छ । मान्छेको विद्यमान जीवनलाई भन्दा पूर्वजन्म वा परजन्मप्रति ध्यानाकर्षित गरेर रहस्यमा विचरण गराउने अन्ध विश्वासको बलियो हतियार जन्म र पुनर्जन्म सम्बन्धी अवधारणा पनि हो । यस महाकाव्यमा आर्यहरूले सम्मानजनक जीवन पाएका र अनार्यहरूले पाउन नसकेका कुरालाई त्यही जन्म र पुनर्जन्ममा गरिएको कामको फलसँग जोडीे भ्रम छरेर आर्यहरूले आफ्नो स्वार्थ पुरा गर्ने गरेको उद्घाटन यसरी गरिएको छ ः
राम्रो काम गरे आर्य मालिक भई जन्मिए
नराम्रो कामले दास अनार्य भई जन्मिए
आजको काम अन्सार हुनेछ भोलिको जुनी (प्रश्रित, २०४४ ः १७९) ।
वस्तुतः आजको एक्काइसौँ शताब्दीमा समेत कति मानिस यस्ता भ्रमबाट मुक्त हुन सकेका छैनन् भने सामन्तवादी युगको बिगबिगी भएका बेला सो अन्ध विश्वासले प्रभावित नगर्ने त कुरै भएन । यसबाट असचेत मानिस आफू शोषणमा परेका वस्तुवादी कारणको खोजी गर्नतिर नलागी पूर्व जन्मलाई सराप्ने तथा आगामी जन्मलाई सपार्न भनी तिनै भ्रम बोकेर हिँड्न बाध्य हुने सन्दर्भ साँच्चैको यथार्थ पनि हो । प्रश्रित यस्तै कुराबाट समाजलाई सचेत तुल्याउन चाहन्छन् ।
मोदनाथ प्रश्रितले अन्ध धर्मको आड लिएर नै शासक वर्गले दासहरूलाई निष्काम कर्म गर्न अभिप्रेरित गर्ने गरेको र शासक वर्गले दास वर्गमा धन वा पैसाका पछि लाग्ने काम तुच्छ हो भन्ने भावना पनि विकसित गरीे सन्तोष मानेर बस्नु नै सबभन्दा राम्रो उपाय हो भन्ने जालझेलपूर्ण धारणा फैलाएर पनि आफ्नै दुनो सोझ्याउने गरेको उल्लेख गरेका छन् । उनले अर्काको कमाइप्रति ईष्र्याको भावना नराख्नु, लोभ पनि नगर्नु भन्ने भावना दास वर्गमा फैलाएर पनि आफ्नो शोषण विरुद्ध जनता नओर्लून् भन्ने गलत नियत नै राख्ने गरेको उल्लेख गरेका छन् । यसबाट अज्ञानी र श्रमजीवी मानिसलाई गरिबी र शोषणका विरुद्ध सङ्घर्ष होइन पिल्सिएर मर्नु परे पनि धर्म विरोधी काम चाहिँ गर्नु हुँदैन भनेर पलायनको शिक्षा फैलाउने नियत नै लुकेको उल्लेख गरेका छन् । चोरी, ईष्र्या, लोभ आदि भावना मानिसमा आउनु हुँदैन भन्ने कुरा मनासिब भए पनि यहाँ शोषक वर्गले आफ्नो शासनलाई अनुकूल पार्ने गलत मनसायले मात्र गरेको हुनाले एकाङ्गी र त्रुटिपूर्ण पनि छ भन्ने धारणा देवासुर सङ्ग्रामले व्यक्त गरेको छ ।
मोदनाथ प्रश्रितले देवासुर सङ्ग्राममा वेदका नाममा कथिएका थुप्रै कुराहरू अज्ञानी जनतालाई ठग्ने शोषक वर्गका दाउ मात्र हुन् भन्दै तिनलाई ईश्वरकै वाणी हुन् भन्नु पर्ने जाल शासक वर्गले रचेको पनि उल्लेख गरेका छन् । उनले भन्न चाहिँ अपौरुषेय अर्थात् मानिसले नरचेका भनेर भन्ने तर रच्न चाहिँ आफै रचेर नीति विधान हुन् भन्दै लागू गर्ने सामन्ती शासक र तिनका बुद्धिजीवीका गलत नियतको उद्घाटन गरेका छन् । प्रश्रितले तिनै वेदमा उल्लेख गरिएको भनी वर्णाश्रम व्यवस्थाको मान्यता मानिसहरूमा फैलाई तिनलाई पनि विभाजित गरेर शासन चलाउन उपयुक्त हुने विचार पनि देव पक्षले प्रस्तुत गरेको जनाएका छन् । वस्तुतः वर्णाश्रमको व्यवस्थाले बाहुनलाई धर्मसत्ता तथा क्षेत्रीलाई राज्यसत्ताको अधिकारी बनाई सबभन्दा कठोर मेहेनत गर्ने मानिसहरूलाई शूद्रमा अपमानित गरि दिएर अमानवीय शोषणको परम्परा बसालेको पाइन्छ । वेदमा भनिएको भनेपछि र त्यसलाई नै विधान बनाएपछि जनताले मान्नै पर्ने बाध्यता रहने भएकाले त्यसै गरेर भ्रम छरिएको कुरो देवासुर सङ्ग्राममा यसरी व्यक्त गरिएको छ ः
जातपातहरूलाई ईश्वरीय बताउन
समाजको भेदभाव बीच पर्दा झुँडाउन
सारा शोषण हुन् न्यायपूर्ण भन्दै भुलाउन
वर्णाश्रम व्यवस्थाको स्थापना गर्नु पर्दछ (प्रश्रित, २०४४ ः १९५) ।
मोदनाथ प्रश्रितले अन्धताका भ्रम छर्नकै निम्ति देवपक्षले सामन्ती समाजमा नारी र शूद्रलाई वेद पढ्न नदिने नियम बनाएको सन्दर्भ पनि उल्लेख गरेका छन् । अहिले हाम्रो समाजमा जातीय भेदभावको चरम उत्पीडन छ । सबभन्दा कठोर किसिमका काम गर्ने समुदाय नै आज समाजमा उपेक्षित र उत्पीडित छ । सडक सफा गर्ने कुचीकार, जुत्ता सिलाउने सार्की, लुगा सिलाउने दर्जी, श्रमका औजारहरू निर्माण गरेर समाजको आर्थिक उत्पादनलाई प्रत्यक्ष सहयोग गर्ने सुनार लगायतको समुदाय विभिन्न तरिकाले पीडित र अपमानित छ । यस महाकाव्यमा ती सबै अमावीय भेदभावहरू सबै दास एवं सामन्ती समाजका शासकहरूले निर्माण गरेका जाली कुरा मात्र हुन् भन्ने तथ्यको उद्घाटन गरिएको छ । त्यसका अतिरिक्त पतिलाई परमेश्वर मानेर पूजा गर्नु पर्ने, लोग्नेका खुट्टाको जल खानु पर्ने, लोग्नेको सेवालाई नै सर्वोपरि ठान्नु पर्ने, लोग्नेको मृत्यु हुँदा सती जानु पर्ने वा विधवा बनेर आजीवन कष्ट भोग्नु पर्ने आदि अन्धताका नियमहरू बनाएर पनि देव पक्षले अन्ध विश्वास मार्फत आफ्नै स्वार्थ पुरा गर्न खोजेको कुरा उल्लेख गरिएको छ । प्रश्रित यस्ता कुरालाई वस्तुवादी ढङ्गले बुझेर अघि बढ्नु पर्ने आग्रह गर्दछन् ।
मोदनाथ प्रश्रित जन्म पुनर्जन्म, पाप, पुण्य, धर्म, वर्णभेद, जातिभेद आदि सबै कुराहरू र तिनबाट मानवमा गरिने भेदभावको व्यवहार सबै कुरा विज्ञान सम्मत भौतिकवादी चिन्तनका अभावले नै भएको मान्दछन् । यसले अध्यात्मवादीहरूले भन्ने गरेको चेतनाले सारा जीवन र जगत्को सृष्टि गर्छ भन्ने कुराका विपरीत द्वन्द्वात्मक भौतिकवादी मान्यताका आधारमा पदार्थ वा जड तत्त्वबाट चेतन तत्त्वको निर्माण र विकास हुन्छ भन्ने वस्तुवादी अवधारणा प्रस्तुत गरेको छ । प्रश्रितले दासनेतामा पनि सो वस्तुवादी चेतनाको विकास हुन थालेको र त्यसले अन्ध विश्वासका जन्जालहरूलाई छिनाल्दै जाने आशा पनि व्यक्त गरेका छन् । प्रश्रित दासनेतामा विकसित भइ रहेको वैज्ञानिक चिन्तनको विकासका सन्दर्भलाई यसरी सजिलो गरी प्रस्तुत गर्दछन् ः
जड तत्त्वबाटै हुन्छ जन्म चेतन तत्त्वको
सचेतन किरा आफै जन्मन्छ जड जाँडमा
गर्भमा जडताबाटै चेतना सग्बगाउँछ (प्रश्रित, २०४४ ः १८८) ।
चेतनाबाट पदार्थको सिर्जना हुने भन्ने अभौतिक आध्यात्मिक विचारका विरुद्ध पदार्थबाट नै चेतन तत्त्वको निर्माण हुने द्वन्द्वात्मक भौतिकवादी वस्तुवादी मान्यता देवासुर सङ्ग्राम महाकाव्यमा प्रस्तुत गरिएको पाइन्छ । यी मान्यताहरू प्रस्तुत गरे पनि शोषक वर्गले नयाँ नयाँ जाल पनि रचि रहेका अनि ती जालका विरुद्ध समाजका विकासशील श्रमजीवी शक्तिहरूले अविच्छिन्न सङ्घर्ष पनि चलाइ रहेका र चलाइ पनि रहनु पर्ने मान्यता प्रश्रितले प्रस्तुत गरेका छन् । हुन पनि आजभन्दा ५० वर्ष पहिले नेपाली समाजमै पनि जे जति अन्ध विश्वासका पाप, पुण्य, स्वर्ग, नरक, जातीय विभेद, छुवाछुत आदि प्रचलन थिए ती बिस्तारै हट्दै गएका पनि छन् र तिनका ठाउँमा विज्ञानसम्मत संस्कार र परिष्कृत संस्कृतिको निर्माण भइ रहेको पनि देखिएकै छ ।
देवासुर सङ्ग्राममा समाजमा व्याप्त धर्म, पाप, स्वर्ग, नरक, जन्म, पुनर्जन्म आदि कुरा सबै शोषक वर्गले अज्ञानी र मेहेनती जनतामाथि आफ्नो शासन लाद्नका निम्ति निर्माण गरिएका नाटक मात्र हुन् भन्ने यथार्थ प्रस्तुत गरिएको छ । त्यसमा पण्डितहरूले भन्ने पुराण, वेद आदि ग्रन्थ पनि जनतालाई दबाउन तिनै ऋषिहरूले आफै कथेका कथा मात्र भएको यथार्थ पनि प्रस्तुत गरिएको छ । यसका साथै मानिसमा समयको विकाससँगै अन्ध मान्यताको ह्रास भइ रहेको तथा वस्तुवादी एवं द्वन्द्ववादी वैज्ञानिक मान्यताको विकास भइ रहेकाले भावी समाज पूर्णतः अन्ध विश्वासमुक्त हुने निष्कर्ष पनि प्रस्तुत गरिएको छ । यसरी सम्पूर्ण श्रमजीवी जनताले जातीय भेदभाव, धार्मिक एवं सामाजिक अन्धताका कुराका पृष्ठभूमि र वास्तविक कारणलाई बुझ्दै शोषणका सबै जालहरूलाई निषेध वा अस्वीकार गरी वस्तुवादी एवं वैज्ञानिक जीवनतर्फ अविश्रान्त लागि रहेका र लागि रहनु पर्ने वचार पनि प्रस्तुत महाकाव्यमा व्यक्त गरिएको पाइन्छ ।
२.५ सामयिकता र स्वाभाविकताको निर्माण
देवासुर सङ्ग्रामको विषय स्रोत विविध धार्मिक ग्रन्थ भए पनि मूल प्रतिपाद्य नेपाली समाजको जीवन यथार्थ हो र त्यसका निम्ति थुप्रै मूल प्रसङ्गका अलौकिक तथा अतिकाल्पनिक सन्दर्भलाई हटाएर वा परिवर्तन गरेर सामयिक र स्वाभाविक बनाउने प्रयत्न गरिएको छ । इतिहासका सकारात्मक एवं वैज्ञानिक पक्षहरूलाई आत्मसात गर्ने, तिनलाई वर्तमानको द्वन्द्ववादी यथार्थका कसीमा परख गर्ने तथा आगतको प्रगतिशील एवं विकासशील शक्तिको पहिचान गरी अझ अग्रगामी यात्रा तय गर्ने काम गर्नु नै सही कुरा हो । यसैका लागि प्रश्रितले यस महाकाव्यमा आध्यात्मिक युग विभाजनका सत्य, त्रेता आदिलाई आदिम साम्यवादी, दास आदि युगमा रूपान्तरित गरेका, अलौकिक अतिकाल्पनिक देव र असुरलाई यथार्थ मानव समूहकै रूपमा चित्रित गरेका, भौगोलिक दृष्टिले पनि उत्तरतर्फको शीत प्रदेश वा युरोप समेतलाई स्वर्गका रूपमा, नेपाललाई किरातेश्वर शिवको पाशुपत क्षेत्रका रूपमा, अत्यन्त गर्मी हुने र कष्टकर जीवन गुजार्नु पर्ने भूमि अफ्रिकालाई पाताल वा नरक प्रदेशका रूपमा आदि चित्रण गरेर यस्ता कुरा आकाश पातालका नभई यसै धरतीमा रहेका जनाई सामयिकता प्रदान गर्न खोजेका छन् ।
यस महाकाव्यमा चारहात भएका विष्णुलाई धन, जन, बल र बुद्धि भएका व्यक्ति, उनको दशावतारलाई मानवको जैविक विकासकै रूपहरू, उनको शक्तिशाली भनिएको सुदर्शन चक्रलाई घुमाएर प्रहार गरिने धारिलो चक्र, चारमुखे ब्रह्मालाई चार जनाको सृजन क्षमता भएका व्यक्ति, बज्र समान कठोर भनिएको दधिचिको हाडलाई कडा पहाड फोर्न सक्ने क्षमताको काँसोको निर्माण दधिचिले गरेका, समुद्र मन्थन भनिएको कार्यलाई सबै मिलेर योजनाबद्ध तरिकाले विकासको कार्यमा सहभागी हुँदा हुने अनेकौँ फाइदाका साथै साम्यवादी समाजको झलकका रूपमा पनि प्रस्तुत गरेका छन् । यस महाकाव्यमा समुद्र मन्थनका बेला उत्पन्न हलाहल विषलाई देवपक्षको आल्छीपन र कामचोर प्रवृत्तिबाट भएको झगडा र त्यस झगडामा शिवको कण्ठमा चोट लागी घाँटी निलो हुन पुगेर निलकण्ठ नाम रहेको, रावणका दस मुखलाई दस जना बराबरको बुद्धि भएको व्यक्तिका रूपमा व्याख्या गरेका छन् । यस्ता कुराहरू मानवेतर कार्य र असम्भव कर्मका रूपमा व्याख्या गर्ने आध्यात्मिक परम्पराका विपरित प्रश्रितले यथार्थसम्मत बनाएर प्रस्तुत गर्ने महत्त्वपूर्ण कार्य गरेका छन् । यस महाकाव्यमा यस्त थुप्रै कुराहरू छन् जसले धर्ममा भनिएभन्दा नयाँ रूपमा विनिर्मिति पाएका छन् । हिन्दु धर्म प्रभावित नेपाल र यहाँको समाजले सुनेजानेका यस्ता कुराबाटै अन्धताका पर्खालहरू भत्काउन र यथार्थ एवं वस्तुसम्मत जीवन बुझेर प्रगतिशील गन्तव्यमा पुग्न सजिलो हुने गरी उक्त कार्य गरिएकोले त्यसलाई महत्त्वपूर्ण मान्न सकिन्छ ।
प्रस्तुत महाकाव्यमा आख्यान र कवित्वको समानान्तर उपस्थिति भन्दा आख्यानको प्रबलता र त्यसमा पनि नाककीकरणको अभिव्यक्ति पाइने भएकाले यसलाई पद्यात्मक नाट्याख्यानसम्म भन्ने गरिएको पनि पाइन्छ (अवस्थी, २०६८ ः ७) । यस क्रममा महाकाव्यिक भाव सघनताको भन्दा पनि विचार प्रक्षेपणप्रतिको केन्द्रितताले यसको कवित्व पक्ष ऋणात्मक हुन पुगेको कूरो सही नै हो । कथानकको बुनोटमा पनि हजारौँ वर्षभित्रका विशेषतालाई बुन्नु पर्दा र तिनको कार्य कारण सम्बन्धको व्यवस्थापन गर्नु पर्दाका परिसीमाहरू प्राप्त हुन्छन् । साथै हजारौँ वर्षको मानव विकासलाई प्रस्तुुत गर्दा सुरुदेखि नै इन्द्र, वृहस्पति लगायतका पात्र आएका र ती व्यक्ति नभई पद हुन् भन्ने गरी तालमेल मिलाउन नसकेका कमीहरू पनि खट्किने खालका छन् । साथै ब्राह्मण र क्षत्री जस्ता जातभित्र पनि शोषक र शोषितको वर्गभेद सृजना हुने र तिनै जातिका बिच पनि वर्गीय सङ्घर्ष हुने भन्ने सन्दर्भ यस महाकाव्यका अन्ततिर आए पनि त्यसअघिका प्रसङ्गमा ती जातका सबै मानिसलाई शोषक भनेर आरोपित गर्नु पनि कमजोर पक्षका रूपमा देखिएको छ । यी र यस्ता अन्य कतिपय ऋणात्मक पक्ष सहित रचिएको प्रस्तुत महाकाव्यको प्रमुख पक्ष समाजिक विभेद र अन्धताका ऐतिहासिक कारणहरूको पहिचान समाजलाई गराउने र तिनबाट सजग भई वैज्ञानिक, न्यायपूर्ण, श्रम पक्षधर र समानतामूलक समाज निर्माणको पवित्र कार्यमा सहभागी हुन प्रेरित गर्ने नै हो । नेपाली महाकाव्यका सापेक्षतामा यसले नवीन मूल्य राख्दछ किनभने भानुभक्त, देवकोटा, सोमनाथ, लेखनाथ र समका महाकाव्यको युगीन मूल्य भन्दा यसको मूल्य बढी देखिन्छ –शीतांश, २०६८ ः ११०) । यस प्रयोजनका निम्ति देवासुर सङ्ग्राम नेपाली महाकाव्य परम्परामा सशक्त प्रगतिवादी महाकाव्यका रूपमा स्थापित छ ।
३. निष्कर्ष
मोदनाथ प्रश्रितको देवासुर सङ्ग्राममा मानव इतिहासको व्याख्या माक्र्सको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यताकै आधारमा गरिएको छ । त्यसमा मातृ सत्तात्मक समाजको अन्त्य भई दास एवं सामन्ती युगमा विकसित भएका नीजि सम्पतिको थालनी, जातीय भेदभाव, लैङ्गिक असमानता, कठोर मानवीय श्रममाथिको वर्गीय शोषण र अन्धताका पक्षहरूलाई प्रस्तुत गरिएको छ । त्यसमा समाजका अगुवा बनेका शासक एवं भौतिक सम्पत्तिमाथि अधिकार जमाएर बसेका उच्च वर्गका देव पक्षले आफ्नो शासनको आयु लम्ब्याउनका निम्ति धर्म, जात, सतीप्रथा, स्वर्ग, नरक आदिका भ्रामक नियम बनाएर असुर, नारी, दास लगायतका उपेक्षित एवं श्रमिक पक्षमाथि शोषण गरेका हुन् भन्ने रहस्यलाई खास गरी हिन्दू धार्मिक ग्रन्थ र प्रचलनका आडमा प्रस्तुत गरिएको छ । त्यसबाट पाठकमा काल्पनिक देवता र रहस्यमय अन्धताका कुरा छोडी वस्तुवादी एवं वैज्ञानिक विचार ग्रहण गर्न प्रेरणा र अन्धताका भ्रमजालहरूलाई चिर्न निसन्देह सहयोग मिलेको छ । धार्मिक ग्रन्थ एवं व्यक्तित्वकै आड लिएर गरिएको यथार्थ एवं सामयिक जीवन सम्बद्ध पक्षको यसको प्रस्तुतिले समाजको विकासलाई विज्ञान सम्मत तरिकाले बुझ्न सिर्जनात्मक दृष्टि प्रदान गरेको छ । यसले निम्न वर्गको विजय नभएसम्म श्रमिक, उत्पीडित र लैङ्गिक उत्पीडन भोगि रहेको पक्ष तथा शोषक, उत्पीडक र अहिलेसम्म सम्मानित पक्षको द्वन्द्व पनि चलि रहने तथा अन्ततः श्रमिक पक्षको विजय भएरै छोड्ने प्रगतिवादी दृष्टिकोण पनि प्रस्तुत गरेको छ । कतिपय पक्षमा आर्य र अनार्यको, विस्तारवादी र आदिवासीको, उच्च जात र निम्न जातको अन्तरविरोध र द्वन्द्वलाई प्रस्तुत गरिएको भए पनि अन्ततः ती सबैको समाधान वर्गीय द्वन्द्वकै मातहत रहने प्रगतिवादी मान्यतामा नै जोड दिइएकाले कतिपय समीक्षक एवं चिन्तकका सामाजिक द्वन्द्वलाई निम्त्याउन सक्ने आशङ्काको निवारण पनि यसले गरेको पाइन्छ ।

सन्दर्भ सामग्री
अवस्थी, महादेव (२०६८), देवासुर सङ्ग्रामको विषयवस्तुगत सेरोफेरो र विधागत स्वरूप”, मोदनाथ प्रश्रित ः केही
अध्ययन, सम्पा. कपिल देव लामिछाने, झापा ः जुही प्रकाशन पृ. ६८–८७ ।
उपाध्याय, यदु नन्दन (२०६८), “कवि मोदनाथ प्रश्रितका प्रगतिवादी प्रवृत्ति”, अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध, त्रि.वि., काठमाडौँ ।
गाबा, ओम प्रकाश (सन् १९९८), राजनीतिक विज्ञान विश्वकोश, नयी दिल्ली ः नेसनल पब्लिसिङ्ग हाउस ।
चापागार्इँ, नरेन्द्र (२०५२),“मोदनाथ प्रश्रितका दुई महाकाव्य”, काव्य समालोचना, विराटनगर ः पूर्वाञ्चल साहित्य प्रतिष्ठान पृ ६१३–६४१ ।
दीक्षित, महेश मणि र अच्युत भण्डारी (२०५६),“ऐतिहासिक भौतिकवाद”, माक्र्सवादी अध्ययनका लागि केही सन्दर्भ सामग्री, काठमाडौं ः केन्द्रीय पार्टी विभाग, नेकपा (एमाले) पृ. १८–४९ ।
जेटकिन, क्लारा (२०६३), महिलाहरूको मुक्तिका बारेमा, अनु. रमेश सुनुवार, काठमाडौं ः प्रगति पुस्तक पसल ।
ढकाल, घनश्याम (२०६४), द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवाद, कास्की ः नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन ।
तामाङ, सीताराम (२०६३), नेपाल (समाज विकासको ऐतिहासिक भौतिकवादी निरूपण), ते.सं., काठमाडौं ः निरन्तर प्रकाशन ।
तिमल्सेना, पशुपति नाथ (२०६४), प्रगतिवादी कविता मान्यता र प्रवृत्ति, पोखरा ः ओजन बुक्स ।
प्रश्रित, मोदनाथ (२०४४), देवासुर सङ्ग्राम, ते.सं., नेपाल ः प्रगतिशील अध्यययन केन्द्र ।
(२०५८), सङ्कलित रचनाहरू (भाग २), काठमाडौँ ः पैरवी बुक्स एण्ड स्टेसनरी सेन्टर ।
माक्र्स, कार्ल र फ्रेडरिक एङ्गेल्स (२०६४), कम्युनिस्ट पार्टीको घोषणापत्र, अनु. कृष्ण प्रकाश श्रेष्ठ, काठमाडौं ः प्रगति पुस्तक सदन ।
शर्मा, जनक लाल (२०५८), हाम्रो समाज ः एक अध्ययन, ते.सं., ललितपुर ः साझा प्रकाशन ।
शीतांश (२०६८), “देवासुर सङ्ग्रामलाई हेर्दा”, मोदनाथ प्रश्रित ः केही अध्ययन, सम्पा. कपिल देव लामिछाने, झापा ः जुही प्रकाशन पृ. १०९–११४ ।