केचनकवल

झापा जिल्लाको केचना गाविसमा पर्ने केचनाकवल नेपालको सबैभन्दा होचो ठाउँ भएकोले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल मानिएको यो स्थान समुद्री सतहबाट ५८ मि. उचाइमा रहेको छ । यस क्षेत्रमा ४ विगाहा जमिन अत्यन्त होचो भएको कारण बर्षा याममा पानी जमेर दलदलमा परिणत हुने गर्दछ । तसर्थ हिउँदमा मात्र त्यहाँ निर्मित आधार स्तम्भमा पुग्न सकिन्छ । केचनाकवलमा वि.सं. २०४४ साल पौष १६ गते तत्कालिक राजा विरेन्द्र शाहको पुर्वाञ्चल भ्रमणका अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृति माथि स्थापना गरिएको छ । यो ठाउँ नेपाल–भारत सिमानाबाट करिब ५०० मिटर दूरीमा पर्दछ । नेपालकै अल्पसंख्यक आदिवासी गणेश (गनगाई) जातिको समेत बसोबास रहेको केचना क्षेत्रमा २ वटा ऐतिहासिक पोखरीहरु छन् । महाभारत कालमा विराट राजाले राज्य विस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिने यी पोखरीहरुको कारणले पनि यस क्षेत्रको महत्वप अझ बढेको छ । भीमले किच्चकलाई वध गरेपछि उक्त दुई पोखरीहरु पुर्न खोजेका थिए भन्ने किम्बदन्ती पनि छ । मेची राजमार्गको अन्तिम विन्दु केचनाबाट लगभग दुई किलोमिटर पूर्व–उत्तर छिरेपछि नेपालको होचो भूमि भनेर पहिचान गरिएको केचनाकवल पुगिन्छ ।